गृहमन्त्री रमेश लेखकले राज्य सञ्चालनमा कमीकमजोरी छन् भने सुधार गर्दै लगिने बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले सेवा प्रवाह र सुशासनमा कमजोरी छन् भने सुधार गरिने बताएका हुन्।
‘सुशासन र सेवा प्रवाहका कुराहरूमा काम गर्दै जाँदा कमीकमजोरी हुन सक्छन्, तर लोकतन्त्रमा त्यसलाई सुधार गर्दै लैजाने हो नि,’ उनले भने, ‘लोकतान्त्रिक व्यवस्था नै बेठिक हो भन्ने ठाउँमा पुग्यौं भने त म के आग्रह गर्न चाहन्छु भने घर फोहोर भयो भने सफा गर्ने हो कि आगो लगाउने हो?’
केही कमीकमजोरी भए भनेर लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नु भनेको घरमा आगो लगाएर त्यही खरानीबाट अर्को घर बनाउनु भन्नुजस्तै रहेको उनले बताए।
‘लोकतन्त्रको घरमा आगो लगाएर लोकतन्त्रको खरानीबाट राजतन्त्रको घर बनाउने हो त, यो सम्भव छ त? हामी जाने त्यतै हो त?,’ गृहमन्त्री लेखकले प्रश्न गरे।
उनले राजतन्त्र, पञ्चायतजस्ता सबै व्यवस्था पनि आफूहरूले देखेको बताए।
यो पनि: तीनकुने घटनाका घाइतेको सम्पूर्ण उपचार सरकारले गर्छ: गृहमन्त्री लेखक