पार्टीको प्रदेश कमिटीका सहइञ्चार्जहरूको विषयलाई लिएर आन्तरिक असन्तोष चुलिएपछि नेकपा माओवादी केन्द्रले सबै सहइञ्चार्जहरू एकैपटक हटाएको छ।
वरिष्ठ केन्द्रीय सदस्यहरूलाई पनि प्रदेशको सहइञ्चार्ज बनाएर मानमर्दन गरिएको भन्दै माओवादीभित्र असन्तोष थियो। आइतबार केन्द्रीय सदस्यहरूलाई महासचिव देव गुरूङले आठ बुँदे सर्कुलर पठाउँदै सबै सहइञ्चार्जहरू हटाएको जानकारी दिएका हुन्।
‘हिजो साँझतिर सर्कुलर प्राप्त भएको छ,’ माओवादी कोशी प्रदेश कमिटी (माओवादीले प्रदेश १ कमिटी भन्ने गरेको छ) का सहइञ्चार्ज सावित्रीकुमार काफ्लेले सेतोपाटीसँग भने, ‘सर्कुलरमा सबै प्रदेशका सहइन्चार्जहरू हटाइएको उल्लेख छ।’
चैत १८ र १९ मा बसेको पदाधिकारी बैठकले सहइञ्चार्जहरू हटाउने निर्णय गरेको र सोही निर्णय सर्कुलरमार्फत आफूहरूले पाएको उनले जानकारी दिए।
‘सिनियर सिसिएमहरूलाई पनि यसअघि प्रदेशको सहइञ्चार्ज बनाइएको थियो,’ उनले भने, ‘त्यही भएर केही नमिलेको जस्तो भएको थियो। अलि मिलेन भन्ने कुरा थियो। त्यही भएर हटाइएको होला।’
उनले ‘अलि मिलेन’ भनेको विषयले माओवादीभित्र तीव्र असन्तोषको अवस्था रहेको अर्का एक केन्द्रीय सदस्यले बताए।
‘धेरै सिनियरहरूलाई पनि जथाभावी प्रदेशको सहइञ्चार्ज राखिएको थियो, हामी आफैले पनि त्यो निर्णय मानेका थिएनौं,’ ती केन्द्रीय सदस्यले भने, ‘विवादकै कारण पदाधिकारी बैठकले सबैलाई एकैपटक हटाएको हो।’
प्रदेशको सहइञ्चार्ज पद खोसुवामा परेका केन्द्रीय सदस्यहरूलाई अब ‘प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने’ सर्कुलरमा उल्लेख छ। सर्कुलर अनुसार पार्टीको प्रदेश तहसम्मको भूगोलतर्फका सबै सहइञ्चार्जहरू हटाइएको हो।
पदाधिकारी बैठकको निर्णय अनुसार माओवादीले केन्द्रीय कमिटीमा केहीलाई थप पनि गरेको छ। एकता प्रक्रियाबाट आएकाहरूलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको सर्कुलरमा उल्लेख छ।
सर्कुलरमा उल्लेख भए अनुसार मधेशबाट लक्ष्मी चौधरी, कर्णालीबाट तर्कबहादुर शाही र कोशीका पूर्णसिंह राजवंशी केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
वैकल्पिक केन्द्रीय सदस्यहरूमा धेरैजसो एकता प्रक्रियाबाट आएकाहरू छन्। कोशी प्रदेशबाट जयराज संयोजक लिम्बू र प्रवीण चाम्लिङ वैकल्पिक केन्द्रीय सदस्य बनेका छन् भने मधेसबाट प्रमोद साह वैकिल्पक केन्द्रीय सदस्य बनेका छन्।
बागमतीका नवीन रिमाल र अर्जुन योगी र कर्णालीका भीमबहादुर मल्ल, पिएल श्रेष्ठ र हरिष ठकुल्ला पनि वैकल्पिक केन्द्रीय सदस्य बनेका छन्।
पदाधिकारीको सोही बैठकले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।