नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व विद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षा उन्नयनको ढोका खुल्ने बताएका छन्।
नेपाल प्रगतिशील प्राध्यापक संगठनले आइतबार कीर्तिपुरमा गरेको उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा महरले अहिले विद्यालय शिक्षालगायत दर्जनौं विधेयक संसदमा रहेको बताए।
'गरिब देशको जम्बो संसद कानुन निर्माणका सवालमा अकर्मण्य भएको र भत्ता खानमा मात्र सीमित देखिएको छ। विश्व विद्यालय शिक्षालाई व्यवस्थित र थप गुणस्तरीय बनाउन उच्च शिक्षा ऐन यथासक्य छिटो ल्याउनु पर्दछ,' उनले भने।
नेता महरले शिक्षा पनि युग सुहाउँदो हुनुपर्ने बताए।
'युग सुहाउँदो शिक्षाका लागि आवश्यक विषय विधेयकमा लेखिनुपर्छ। म तपाईंहरूलाई प्रश्न गर्न चाहन्छु, नेपालका विश्व विद्यालय र प्रतिष्ठानका पदाधिकारी तथा सबै विचार धाराका प्राध्यापक बसेर राष्ट्रलाई विधेयक दिन सक्नुहुन्छ? यो तयारी गर्नुहोस्। यो आजको आवश्यकता हो। विज्ञले देशको अर्थतन्त्र र विश्व हेरेर तयार पारेको विधेयक सदनले अस्वीकार गर्दा अर्को बहस होला,' उनले भने।