अमेरिकी अध्यागमनको नियन्त्रणमा रहेका मोहनबहादुर थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको प्रष्टीकरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिए पनि उनी पार्टीका बैठकहरूमा जाने गरेको पाइएको छ।
नेपालबाट अमेरिका जाने क्रममा थापालाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिई) ले फिलाडेल्फियाबाट नियन्त्रणमा लिएको हो।
रास्वपाको कार्यवाहक प्रवक्ता मनिषकुमार झाले थापा नियन्त्रणको पुष्टि गरेका छन्।
झाले थापा नियन्त्रणको विस्तृत कारण नखुलाए पनि उनी रास्वपाको केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको उल्लेख गरेका छन्।
यद्यपि झाले नियन्त्रणको रहेको जानकारी दिने क्रममै ‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेको जानकारीमा आएको छ’ भनेर उल्लेख भने गरेका थिए।
रास्वपाका नेताहरूले भने थापाले केन्द्रीय सदस्यबाट केही समय बाहिर रहने भनेर निवेदन दिएको केही समय निष्क्रिय बसे पनि पछिल्लो समय भने बैठकमा आउन थालेको र गतिविधिमा सक्रिय हुन थालेको बताएका छन्।
२०८१ फागुन ५ गते प्रवास नेपाली सम्पर्क विभाग कतारले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मोहनबहादुर थापा। तस्बिरः थापाको फेसबुक।२०७९ चैत २६ गते रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो बाहिरिएको थियो। त्यसको केही समयपछि सांसदबाट हटाइएका श्रेष्ठले पार्टी सभापति रवि लामिछानेनिकट रहेका थापाले आफूलाई मन्त्री बनाइदिन्छु भन्दै तीन करोड रुपैयाँ मागेको पनि आरोप लगाएका थिए।
त्यसमाथि पार्टीले छानबिन गरेको थियो।
पछि थापाले श्रेष्ठविरूद्ध काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा हालेको भन्दै उक्त मुद्दा किनारा नलागेसम्म केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग हुने भनेर पार्टीमा निवेदन दिएका थिए।
पार्टीको २०८० कात्तिक ७ गते बसेको केन्द्रीय समिति बैठकले उनको निवेदन सदर गर्दै जिम्मेवारीबाट अलग बनाएको थियो। पार्टीको वेबसाइटमा केन्द्रीय सदस्यको सूचीबाटसमेत उनको नाम हटाइएको थियो। अहिले पनि उनको नाम केन्द्रीय सदस्यको सूचीमा भने भेटिँदैन।
‘केन्द्रीय सदस्य मोहनबहादुर थापाले ३ करोड रुपैयाँ मागेको भनी पार्टीबाट निष्कासित पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले सञ्चारमाध्यमहरूमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी मोहनबहादुर थापाले काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गर्नुभएको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराउनु भएकोमा उहाँको निर्णयलाई स्वीकार गरेको छ,’ त्यस दिन बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा भनिएको थियो।
तर केन्द्रीय समिति बैठकमा भने उपस्थित हुने गरेको उनैले सार्वजनिक गरेको फोटोले पुष्टि गरेको छ। उनी केन्द्रीय समिति बैठकमा मात्र होइन पार्टीको प्रवास कमिटीका कार्यक्रममा पनि सरिक हुने गरेको तस्बिर आफैले सामाजिक सञ्जालमा राखेका छन्।
गत पुस २० गते बसेको पार्टी केन्द्रीय समिति बैठकमा थापा पनि उपस्थित थिए। त्यसभन्दा पनि उनी पार्टीका गतिविधिमा सरिक भएको तस्बिर उनको फेसबुकमा देख्न सकिन्छ।
स्रोतका अनुसार थापालाई यसअघि पनि अमेरिकामा मानव बेचबिखनको मुद्दा लागेको थियो। त्यो मुद्दामा उनी जेल समेत परेका थिए। अहिले पनि कुनै गम्भीर अपराधमा मुछिएर पक्राउ परेको हुनसक्ने अध्यागमन कानुनका जानकारको भनाइ छ।