झापाको कचनकवलबाट सोमबार सुरू भएको नेकपा (माओवादी केन्द्र)को जागरण अभियानकै लागि मोरङमा विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको छ।
माओवादी केन्द्रले मोरङको कानेपोखरी गाउँपालिकामा मंगलबार गर्ने जागरण सभामा ‘ध्वनि प्रदूषण हुने’ भन्दै त्यहाँका निजी विद्यालय बन्द गर्न माओवादीले दवाव दिएको हो।
माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले कार्यक्रमस्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न भनेका हुन्।
उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा बृहत् जनसभा हुने उल्लेख छ।
उक्त जनसभाका कारण सवारी साधन अत्याधिक भई यातायातमा समस्या आउने, उच्च ध्वनि भएका ध्वनियन्त्र प्रयोग हुने, जसका कारण विद्यार्थीहरूलाई ध्वनि प्रदूषणको समस्या हुने भन्दै ‘एक दिन विद्यालय बिदा गरी कार्यक्रमलाई आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दैछौं,’ भनिएको छ।
माओवादी कानेपोखरीका अध्यक्ष कार्कीले रमाइलो बजारस्थित रमाइलो बालजगत इङ्ग्लिस बोर्डिङ स्कुल, पल एकेडेमी र माउन्ट हर्मोन एकेडेमीलाई पत्र पठाएर विद्यालय बन्द गर्न भनेका हुन्।
माओवादीको अभियानको सोमबार अध्यक्ष पुष्पकमल दाहालले झापामा उद्घाटन गरेका थिए। अभियानको टोली मंगलबार मोरङको कानेपोखरी आएर सभा गर्ने तयारी छ।
स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिकामा माओवादीबाट एकजना पनि जनप्रतिनिधि निर्वाचित भएका छैनन्। जसका कारण माओवादीले त्यहाँ शक्ति प्रदर्शनसहितको सभा गर्न विद्यालय समेत बन्द गर्न दबाब दिएको अन्य पार्टीका नेताहरूले बताएका छन्।
माओवादीले कानेपोखरी–रंगेली हुलाकी सडक नै अवरूद्ध हुने गरी सभा स्थल निर्माण गरेको छ।
विद्यालय बन्द गर्न आग्रहसहितको पत्र पाएका बालजगत इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल दानबहादुर बस्नेतले राजनीतिक कार्यक्रममा विद्यालय नै बन्द गर्न लगाउनु उचित नभएको बताए।
उनले आफ्नो विद्यालय खुल्नेसमेत जानकारी दि । ‘विद्यालयमा असर गर्छ भनेर बन्द गरिदिनु भनेको हो भनेका छन्, तर मक्सद चाहिँ बन्द नै गराउने देखिन्छ, उहाँहरूले प्रतिवाद गर्न खोजेको देखिन्छ’ बस्नेतको प्रश्न थियो, ‘हामीले के भनेर विद्यालय बन्द गर्नु? विद्यार्थीलाई माओवादीका नेता आउँदै हुनुहन्छ, विद्यालय नआउनु भन्नु पर्ने भयो?’
विद्यालय बन्द गर्न दवाव आएपछि अभिभावकहरूलाई बोलाएर छलफल समेत गरिएको उनले जानकारी दिए। अभिभावकहरूले समेत विद्यालय बन्द गर्न नहुने सुझाव दिएकोले बन्द नगर्ने निर्णय गरेको बताए।