परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ।
आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरूबीच आइतबार साँझ भेट भएको हो।
भेटका क्रममा उनीहरूबीच नेपाल भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो।
त्यस्तै पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो। हालै काठमाडौंमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि कुराकानी भएको थियो।
भेटमा मन्त्री डा. देउवाले भारतसँग भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत निर्यात प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। साथै पछिल्लो समयमा दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा उनीहरूबीच कुराकानी भएको थियो।
नेपाल-भारत-बंगलादेशको त्रिपक्षीय विद्युत व्यापार सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि एउटा ठूलो उपलब्धि रहेको भन्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री देउवाको भनाइ थियो।
भेटमा क्रस बोर्डर विद्युत व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो। साथै नेपाल भारत बीचको व्यापार सन्धि पुनरवलोकन, यही जनवरीमा काठमाडौंमा भएको नेपाल भारत इन्टर-गभर्न्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो।
साथै सो भेटका क्रममा भारतीय तर्फबाट अतिरिक्त बन्दरगाहहरू सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास र व्यापार प्रवर्द्धन तथा दुई देशबीचको 'कनेक्टिभिटी' मा सुधार ल्याउने भन्दै परराष्ट्रमन्त्री देउवाले प्रशंसा गरेकी थिइन्।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरू समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रीस्तरीय बैठकबाट यसलाई सकारात्मक रूपमा अघि बढाउने समझ्दारी भएको विषयमा उनीहरूबीच छलफल भएको थियो।
भेटका क्रममा माथिल्लो अरूण परियोजना अघि बढेकोमा भारतीय विदेशमन्त्री एस जयशंकले धन्यवाद व्यक्त गरेका थिए। साथै बिमस्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा पनि राखेका थिए।
परराष्ट्रमन्त्री देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी थिइन्।