जनमतसँग पार्टी एकता टुंग्याउन रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार जारी केन्द्रीय समिति बैठकमा एकीकरणबारे छलफल भइरहेको नाउपाका नेता गंगाराम चौधरीले जानकारी दिए।
‘हामी केन्द्रीय समिति बैठकमा छौं। एकताबारे छलफल भइरहेको छ,’ उनले भने।
जनमत र नाउपाबीच एकताको अन्तिम तयारी भइरहेको छ। यी दुई दलले बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा एकता घोषणा गर्दैछन्।
एकताका लागि जनमत पार्टीले मंगलबार केन्द्रीय समितिको बैठक बोलाएको छ।
दुवै दलको केन्द्रीय समितिबाट विधान प्रतिस्थापन समितिले तयार पारेको विधान मस्यौदा पारित हुनेछ। त्यसपछि पार्टी एकता हुने उनीहरूले बताएका छन्।
एकीकृत पार्टीको नाम, नेतृत्व, नीति, चुनाव चिह्न र पार्टीको झन्डासमेत टुंगो लागिसकेको छ।
एकीकृत पार्टीको अध्यक्ष सिके राउत हुनेछन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्षको भूमिकामा हुनेछिन्। नाउपा संरक्षक रेशम चौधरीको वरीयताक्रम पहिलो हुनेछ। राउत दोस्रो वरीयतामा र श्रेष्ठ तेस्रो वरीयतामा हुनेछिन्।
पार्टीको नाम नागरिक जनमत पार्टी रहनेछ।
झन्डा आयाताकार कलेजी रङको पृष्ठभूमिमा सेतो पिँध सहितको ढकिया हुनेछ। चुनाव चिह्न ढकिया नै राख्ने सहमति भइसकेको छ। केन्द्रीय समितिको आकार सात सय सदस्यीय हुने टुंगो लागिसकेको छ। पार्टीको मूल सिद्धान्त सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी, विज्ञहरू सम्मिलित गैरसांसद मन्त्री रहने व्यवस्था, प्रधानन्यायाधीशसहित संवैधानिक अंगका प्रमुखहरू जनताबाटै चुनिनुपर्ने, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख हुनुपर्ने र त्यहाँ पनि मन्त्रीहरू गैरसांसद र सानो आकारको प्रदेश सभा हुनुपर्ने लगायत मान्यता उनीहरूले अघि सारेका छन्।
पार्टी एकता घोषणा बुधबार बिहान ११ बजे हुने दुवै पार्टीले बताएका छन्।