अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआइडीको भविष्य अनिश्चित बनेको छ।
यसको वेबसाइट अनलाइनबाट हटाइएको र सय बढी कर्मचारीलाई बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकी सरकारको कार्यक्षमता वृद्धि गर्न र अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति ट्रम्पले नियुक्त गरेका अर्बपति व्यापारी इलन मस्कले युएसएआइडीबारे आक्रामक टिप्पणी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै युएसएआइडीलाई 'आपराधिक संगठन' भनेका छन् र यसको अन्त्य हुनुपर्ने उल्लेख गरेका छन्।
युएसएआइडीको वेबसाइट मात्र बन्द गरिएको छैन, यसका कैयन् कर्मचारीहरूलाई बिदामा पठाइएको छ। कैयनले संस्थाको इमेलको पहुँच गुमाएका छन्। मस्कले नेतृत्व गरेको संस्था डज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी) का प्रतिनिधिहरूलाई भवनको प्रतिबन्धित क्षेत्रमा जानबाट रोक्न कोशिस गरेका दुई सुरक्षा कर्मचारीहरूलाई पनि छुट्टीमा पठाइएको छ।
युएसएआइडीका करिब ३० कर्मचारीहरूले आफ्नो संस्थागत इमेलमा पहुँच गुमाएका छन्। गत हप्ता मात्र छुट्टीमा पठाइएका वरिष्ठ युएसएआइडी कर्मचारीहरूको संख्या १०० नजिक पुगेको छ।
डेमोक्र्याटिक सिनेटर क्रिस कून्सले ट्रम्प प्रशासनको यो कामको तिखो आलोचना गरेको रोयटर्सले जनाएको छ।
उनले एक्समा लेख्दै भनेका छन्, 'राष्ट्रपति ट्रम्पले दुई हप्ता सम्म युएसएआइडी कर्मचारीहरूलाई यातना दिए र अब उनको टोलीले यो संस्थालाई पूर्ण रूपमा समाप्त गर्ने प्रयास गरिरहेको छ।'
युएसएआइडी अमेरिकी विदेशी सहायता र विकास कार्यक्रमहरू सञ्चालन गर्ने स्वतन्त्र संस्था हो। विश्वभर यसका लगभग १०,००० कर्मचारी छन्। पूर्व राष्ट्रपति जो बाइडेनले युएसएआइडीका प्रमुखलाई राष्ट्रिय सुरक्षा परिषदमा राखेका थिए।
युएसएआइडीले संसारभरका कैयन् मुलुकमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ।
युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ। यो संस्थाले सन् २०२२ मा नेपाललाई पाँच वर्षकालागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) सहायता दिने घोषणा गरेको थियो।
कानुनी लडाइँको सम्भावना
अमेरिकी कांग्रेसका डेमोक्र्याटिक पार्टीका सदस्यहरूले ट्रम्प प्रशासनले यो काम युएसएआइडी स्थापना गर्ने र यसलाई एक स्वतन्त्र संस्थाको रूपमा काम गर्न दिने अमेरिकी कानुनहरूको उल्लंघन गरेको बताएका छन्।
उनीहरूले कानुन निर्माता र युएसएआइडीका कर्मचारीहरूसँग यसका बिरुद्ध कानुनी कदमहरू चाल्नेबारे छलफल गरिरहेको समाचार संस्थाहरूले जनाएका छन्।
सिनेट विदेश सम्बन्ध समितिका वरिष्ठ डेमोक्र्याट सदस्यहरूले आइतबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोलाई यस घटनाबारे स्पष्ट गर्न पत्र पठाएका छन्। समितिकी अध्यक्ष जीन शाहिनले डेमोक्र्याट र रिपब्लिकनहरूलाई साथ लिएर यसमा काम गरिरहेको बताएकी छन्।
ट्रम्प प्रशासनले यसअघि नै अमेरिकी विदेशी सहायता ९० दिनका लागि ‘फ्रिज’ (स्थगित) गरिसकेका छन्। युएसएआइडीलाई विदेश मन्त्रालयअन्तर्गत लैजाने र खर्च कटौती गर्ने ट्रम्पको योजना छ।