एकीकृत समाजवादीले नेकपा (एमाले) पलायनतर्फ उन्मुख रहेको निष्कर्ष निकालेको छ।
अन्तरपार्टी निर्देशनमार्फत् पार्टीको निर्णय मातहतका कमिटीमा पठाउँदै उसले एमाले सैद्धान्तिक जडता र विसंगतिबाट सङ्गठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख हुँदै गइरहेको बताएको छ।
‘एमाले सैद्धान्तिक जडता र विसंगतिबाट सङ्गठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख हुँदै गरेको अवस्थामा त्यसको नेतृत्व सरकार र सार्वजनिक जीवनमा पनि बदनाम हुँदै गएको छ,’ उसले भनेको छ।
नेकपा (माओवादी केन्द्र) मा सैद्धान्तिक गतिरोध जस्ताको त्यस्तै रहेको पनि एकीकृत समाजवादीको बुझाइ छ। उसले यस्तै अवस्था रहन दिनु कम्युनिस्ट आन्दोलनका लागि खतरनाक हुन सक्ने उल्लेख गरेको छ।
‘कम्युनिस्ट आन्दोलनमा रूपान्तरणको कार्यभार सिद्धान्ततः नेपालका सबै इमान्दार कम्युनिष्टहरूको कार्यभार हो। तर व्यवहारिकरूपमा यो कार्यभार हाम्रो काँधमा आएको छ। अरू कसैले त्यो जिम्मेवारी वहन नगरेको हुँदा हामीले नेकपा (एकीकृत समाजवादी) गठन गरेर अगाडि बढनु परेको तथ्य हामी सबैले बुझेका छौं। त्यसैले हाम्रा समस्या र चुनौति वा उपलब्धी र सफलता समग्र कम्युनिष्ट आन्दोलनकै विषय हुन्,’ एकीकृत समाजवादीले अपानिमार्फत् भनेको छ।
अहिलेको परिस्थितिमा मुलुकको कम्युनिष्ट आन्दोलनले एउटा जिम्मेवार र शक्तिशाली हस्तक्षेपको माग गरिरहेको एकीकृत समाजवादीको निष्कर्ष छ। त्यसका लागि समय कम हुँदै गएको पनि बताएको छ।
‘हामीले धेरै हण्डर–ठक्कर खाएर बहुमूल्य शिक्षाहरू प्राप्त गरेका छौं। निर्दिष्ट कार्यभारका वरिपरि पार्टीलाई एकताबद्ध बनाएर हिम्मतका साथ अगाडि बढदा छोटै समयमा परिस्थितिलाई अनुकुल बनाउन सकिन्छ,’ एकीकृत समाजवादीले भनेको छ।