नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निजी खर्चमा स्वास्थ्य इकाइ भवन निर्माण गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित बराह मन्दिर परिसरमा भवन निर्माण गरेका हुन्।
बुवाआमाको स्मृतिमा 'टीका-बखत सामुदायिक भवन निर्माण गरिएको हो। उक्त भवनको आइतबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन्।
साथै सो भवन बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरिएको छ। नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाइको सेवा सञ्चालन गर्ने जनाएको छ।
नेता विश्वकर्माले बाबु बखतबहादुर र आमा टीकामायाको स्मृतिमा ६० लाख रुपैयाँ लगानी गरी उक्त भवन निर्माण गरेका हुन्।
बराह क्षेत्र मन्दिरमा आउने भक्तजन, तीर्थालुसहित स्थानीयलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाउन उक्त भवन प्रयोगमा ल्याइने नगरपालिकाले जनाएको छ।
'यो भवनमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन हुन्छ, यसले मन्दिरमा आउने धर्मावलम्बी र स्थानीयलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्नका लागि सहज हुन्छ भन्ने अपेक्षा राखेको छु,' नेता विश्वकर्माले भने।
भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले मन्दिर क्षेत्रको पवित्रस्थलमा सेवाभावले भवन निर्माण गरी त्यसमा स्वास्थ्य इकाइ सञ्चालन हुन लागेकोप्रति खुसी व्यक्त गरेका थिए।