नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले हिउँदे अधिवेशनबाट करिब ३० वटा विधेयक पारित हुने गरी काम अघि बढेको बताएका छन्।
उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कांग्रेस र एमालेले संसदमा विचाराधीन विधेयकमा सहमति जुटाउन संयन्त्र पनि बनाएको बताए।
‘दुई वर्षमा १७ वटा विधेयक मात्र पारित भएको अवस्था रहेछ, तीमध्ये ६ वटा विधेयक बजेटसँग सम्बन्धित थिए,’ उनले भने, ‘विधेयक निर्माणको प्रक्रिया असाध्यै ढिलो भयो र यसले गर्दा स्थानीय तह र प्रदेश सरकारलाई समेत नयाँ कानून निर्माण गर्न अप्ठेरो भयो।’
अहिले १९ वटा विधेयक संसदमा रहेको पनि उनले बताए।
‘त्यसमध्ये १५ वटा विधेयक संसदीय समितिमा र ४ वटा विधेयक राष्ट्रिय सभामा छ। यो १९ वटै विधेयक पारित गर्दै सरकारले अरु ११/१२ वटा विधेयक अरु दिन्छु भनेको छ,’ उनले भने, ‘लगभग ३० वटा विधेयक यो आउने सत्रबाट पास गर्ने लक्ष्य छ।’
संसदमा विचाराधीन विधेयकमा छिटो सहमति खोज्ने बारेमा संयन्त्रले दबाब नदिने उनले बताए।