नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरू हुँदैछ।
एमालेको केन्द्रीय कमिटीको आठौं बैठक आज ११ बजे पार्टी कार्यालयमा बस्ने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै निर्वाचन, अनुशासन आयोगल लगायतले समेत प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
अध्यक्षको प्रतिवेदनमा मुलुकको राजनीतिक अवस्था, सरकारले ६ महिनामा गरेका कामहरू, पार्टीको अहिलेको अवस्था लगायत विषय समेटिएका छन्।
सोमबारसम्म चल्ने बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमा आधारित भएर प्रत्येक सदस्यलाई धारणा राख्ने दिने तयारी एमालेले गरेको छ।
बैठकमा एमालेले सरकारको समीक्षा पनि गर्नेछ। दुई दिनअघि बसेको सचिवालय बैठकले सरकारको काम अपर्याप्त रहेको निष्कर्ष निकालेको थियो।
त्यस्तै बैठकले एमालेको वार्षिक कार्ययोजनाको अर्धवार्षिक समीक्षा पनि गर्नेछ।
यस्तै मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनको समीक्षा गरिने एमालेले जनाएको छ। उपनिर्वाचनमा एमालेले पाँच वडाध्यक्ष, एक गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्षमा जित हासिल गरे पनि समग्र परिणाम सन्तोषजनक नभएको, सहरी जनमत क्रमशः घट्दै गएकाप्रति पार्टी गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको थियो।