नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्ना पाँच जना साथीहरूसहित लोबुचे हिमाल आरोहण गरेका छन्।
मंसिर २१ देखि खुम्बु पदयात्रामा रहेका उनले संसद दिवसको सन्दर्भ पारेर शुक्रबार ६,१४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका हुन्।
आरोहण दलमा शर्मासँगै अनुसन्धानकर्ता प्रकाश लामिछाने, इञ्जिनियर सुभाष अधिकारी, पदम शर्मा तथा कीर्तिमानी आरोहीद्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पा सहभागी थिए। उनीहरू शुक्रबार बिहान पौने ६ बजे लोबुचे शिखर पुगेको महामन्त्री शर्माको सचिवालयले जनाएको छ। सेभेन समिटले आरोहण सहजीकरण गरेको हो।
यो आरोहणमार्फत् नौवटा विषयमा ध्यानाकर्षण गराउन खोजिएको सचिवालयले जनाएको छ।
जलवायु परिवर्तनले हिमालहरूमा पुर्याएको असरको स्थलगत अध्ययन गरेर संसद, सरकार र संसारको ध्यानाकर्षण गराउनु आरोहणको मुख्य उद्देश्य हो। पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेका चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सबै तहको ध्यानाकर्षण गराउने उद्देश्य पनि लिइएको छ।
आरोहण क्रममा गरिएको स्थलगत अध्ययनका आधारमा सांसद शर्माले संसदको आगामी अधिवेशनमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे विवरण पेस गर्ने छन्। यसका लागि उनले स्थानीयवासीसँग संवाद गरेका थिए।
पर्वतारोहणमा महत्त्वपूर्ण भूमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमिकहरूप्रति सम्मान जनाउनु पनि भ्रमणको उद्देश्य हो। खासगरी हिमाली श्रमिकहरूको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा ध्यानाकर्षण गराउने सचिवालयले जनाएको छ।
त्यस्तै, पर्यटन क्षेत्रको विकासमा राज्यको विशेष प्राथमिकताका लागि ध्यानाकर्षण गराउने, आन्तरिक पर्यटन अभिवृद्धिका लागि साहसी पर्यटनमा लाग्न प्रेरित गराउने भनिएको छ।
शिक्षा, निजामती प्रशासन, प्रहरी लगायत दर्जन महत्त्वपूर्ण विधेयकलाई निष्कर्षमा पुर्याउन यो आरोहण क्रममा सभामुखमार्फत अपिल गर्ने उद्देश्य पनि छ।
त्यस्तै, नेपाली समाजमा रहेका जातीय विभेद, बालश्रम, घरेलु हिंसा लगायतका अनेकौं विसंगति अन्त्य गर्न दलहरू, संसद, संघ-संस्था र सिंगो राज्यलाई लोबुचे हिमालको शिखरबाट घच्घच्याउने उद्देश्य पनि रहेको सचिवालयले जनाएको छ।
भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रणका लागि कसैप्रति पनि मोलाहिजा नराखी दृढ कानुनी कारबाहीलाई व्यापक बनाउन आह्वान गरिएको छ। सडक, पुल लगायतका भौतिक निर्माण कार्य तीन सिफ्टमा गर्ने गरी पुँजीगत खर्च वृद्धिसम्बन्धी नयाँ कानुनी बन्दोबस्तका लागि सरकारलाई अपिल गरिएको छ।
महामन्त्री शर्मा संघीय संसदका दुवै सदनको वर्तमान कार्यकालबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद हुन्।