नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले उपनिर्वाचनमा जित हासिल गर्दै पार्टीले जनताको विश्वास आर्जन गर्नुपर्ने बताएका छन्।
कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत इलाममा मंगलबार भएको कार्यक्रममा बोल्दै उनले कांग्रेसले आफूलाई सक्षम साबित गर्न पनि जितको विकल्प नभएको बताए।
‘उपनिर्वाचनमा पार्टी एकबद्ध भएर सक्रिय हुनुपर्छ, कोही कतै चुक्नु हुँदैन। हामी चुकेनौं भने जित सुनिश्चित छ,’ उनले भने।
आफै शक्तिशाली पार्टी बनेर एक्लै चुनाव लड्नका लागि वातावरण सिर्जना गर्नुपर्ने पनि उनले बताए।
‘कांग्रेसबाहेक देशका पुराना राजनीतिक शक्ति सधैं अस्थिरतामा रमाए। हाम्रो धेरै समय उनीहरूलाई समेट्दै देशमा स्थिरता कायम गर्न मै बित्यो। नयाँ राजनीतिक शक्तिको रूप उदय हुँदा नै उदांगो भइसकेको छ। हामीले उनीहरूका पात्र, प्रवृत्ति र चरित्र देखिसकेका छौं,’ उनले भने, ‘अब कांग्रेसले जित्नुको विकल्प छैन। राजनीतिक स्थिरता कायममा ठूलो भूमिका खेलेको कांग्रेस अब जनताको विकास र समृद्धिको अभिष्ट पूरा गर्न केन्द्रित हुनुपर्छ।’
पार्टीको संगठन चुस्त–दुरुस्त बनाउने, जनताका गुनासा सुन्ने र आफूलाई परिष्कृत गर्दा सहजै शक्तिशाली पार्टी बन्न सकिने महरको भनाइ छ।
सरकार पनि आफ्नो प्रतिबद्धताप्रति जिम्मेवार हुनुपर्ने उनले बताए। कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार अघि बढ्नुपर्ने उनले बताए। सात बुँदे सहमतिमा लेखिएका कुराहरू कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो।