काठमाडौं महानगरपालिकाले फोहर संकलन र ढुवानीमा खुला प्रतिस्पर्धा गराउने गरी आह्वान गरेको टेन्डर प्रक्रिया अब नरोकिने भएको छ।
महानगरले असोज २४ गते आह्वान गरेको टेन्डर सूचनाविरूद्ध नेपवेष्ट प्राइभेट लिमिटेडले उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि अन्यौल उत्पन्न भएको थियो।
उच्च अदालतका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यले बिहीबारको सुनुवाइमा अन्तरिम आदेश जारी नगरेपछि टेन्डर प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।
'फोहरमैला संकलन तथा व्यवस्थापनको संवेदनशीलताका आधारमा तत्कालका लागि काठमाडौं महानगरको उल्लिखित बोलपत्र प्रक्रियामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन,' अदालतले भनेको छ।
काठमाडौं महानगरलाई ६ वटा क्षेत्रमा बाँडेर योग्यता पुगेका निजी कम्पनी तथा फर्मलाई प्रस्ताव पेस गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको थियो।