राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी दर्ता पत्रमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई प्रदान गरेको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकले यसअघि पार्टी सभापति रवि लामिछानेलाई दिएको स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दर्तामा आधिकारिता दिने अधिकार बुर्लाकोटीलाई दिएको हो।
गत असोज गते बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह सदस्य उपनिर्वाचनमा भाग लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति लामिछानेलाई दिएको थियो।
‘वर्तमान अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै उक्त उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
यसै निर्णय बमोजिम पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको पनि झाले बताए।
यसैबीच रास्वपाले बुधबार दिउँसो गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको छ।
आज पत्रकार सम्मेलन गरेर दोस्रो चरणको आन्दोलनको प्रारूप सार्वजनिक गर्ने तयारी गरेको थियो।