राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन्।
सभापति लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले भने, ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो। यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो।’
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परे पनि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन।
रास्वपामा डिपी र स्वर्णिम वाग्ले उपसभापति छन्। पार्टी सभापतिले तोकेका वा ज्येष्ठ उपसभापतिमध्येबाट कार्यवाहक तोक्ने विधानमा व्यवस्था भए पनि लामिछानेले औपचारिक रूपमा कसैलाई पनि कार्यवाहक दिएका छैनन्।
तथापि उपसभापति अर्यालले नै कार्यवाहकको भूमिका निर्वाह गर्दै आएका छन्। केन्द्रीय समिति बैठकको अध्यक्षता उपसभापति अर्यालले नै गर्दै आएका छन्।
भिडिओ:
‘उहाँको सभापति पद निरन्तर रहन्छ। उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो। उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ,’ अर्यालले भने, ‘संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमै बसेर पार्टी सञ्चालन गरेका छन्। त्यतिमात्र होइन जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेको इतिहास छ। हामी विचलित हुनु हुँदैन।’
उनले प्रदर्शनकारीको संख्या सानो भए पनि त्यसले दिने सन्देश ठूलो हुने बताए।
शनिबार बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणको सशक्त आन्दोलन घोषणा गरेको र त्यसको मोडालिटी तय भइरहेको उनले बताए। आन्दोलनको स्वरूप परिवर्तन हुने र सहकारी बचतकर्ताहरू निक्षेप फिर्ता लगायतका विषमा मुद्दा मिल्ने दलहरूसँग छलफल गरेर अघि बढ्ने उनले बताए।
यो पनि:
मनिष झालाई प्रश्न– कस्तो हुन्छ दोस्रो चरणको आन्दोलन?
रास्वपाको आन्तरिक छलफलमा सुमनाले भनिन्- पहिले मुकुलले गराए, अहिले कसले राख्यो धर्ना?