प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट सुरू हुने निश्चित भएको छ।
प्रधानमन्त्री ओली डिसेम्बर २ देखि ६ (मंसिर १७ देखि २१) गतेसम्म औपचारिक भ्रमणका लागि चीनमा रहनेछन्।
चीनको निम्तो पाएसँगै प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी र भ्रमणको एजेण्डाबारे तयारी सुरू गरिसकेको छ।
यद्यपी सरकारले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी भने दिइसकेको छैन। तर औपचारिक निम्तो पाएसँगै प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका छन्।
मन्त्री राणाले बुधबारदेखि आन्तरिक छलफल थालेकी छिन्।
छिट्टै चीन भ्रमणका एजेण्डाहरू टुंगो लगाउने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
चीन भ्रमणकै तयारीका निम्ति परराष्ट्र मन्त्री राणाले अजरबैजानको बाकुमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २९ मा सहभागी हुन जाने कार्यक्रम स्थगित गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डल बाकु जाँदै छ।
परराष्ट्र मन्त्री राणा पनि शनिबार बाकु जाने तयारीमा थिइन्। तर प्रधामन्त्री ओलीले चीन भ्रमणको तयारी गर्नुपर्ने भन्दै बाकु भ्रमण स्थगित गर्न परराष्ट्र मन्त्रीलाई भनेका थिए।
त्यसपछि उनले बाकु जाने कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भम्रणको तयारी थालेकी हुन्। केही दिन अघि चीनले प्रधानमन्त्री ओलीलाई औपचारिक भ्रमणको निम्तो पठाएको थियो।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा आउँदो डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणको औपचारिक निम्तो दिइएको हो।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच असोज ११ गते न्यूयोर्कमा भेट भएको थियो।
उक्त भेटमा वाङले नोभेम्बरको अन्तिम या डिसेम्बरको सुरूवातमा भ्रमण गर्ने गरी प्रधानमन्त्री ओलीलाई निम्ता गर्ने बताएका थिए।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पनि कोसिस गरिरहेकी थिइन। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि अमेरिकामा भेट भएको थियो।
त्यसबेला नेपालका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो। भारतीय पक्ष भने प्रधानमन्त्री ओलीलाई बोलाउने विषयमा अहिलेसम्म मौन छ।
एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएपछि ओली छिमेकी भारत र चीन भ्रमणमा गएका छैनन्।
प्रधानमन्त्री ओली चीन भ्रमणका बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई ऋणबाट अनुदानमा रूपान्तरण गर्न नेपालले विशेष अनुरोध गर्ने, बिआरआइ परियोजना कार्यान्वयनलगायत विषयमा छलफल हुनेछ।