राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार चयनको प्रक्रिया थालेको छ।
त्यसबारे छलफल गर्न बुधबार साँझ केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक राखिएको गणेश पराजुलीले जानकारी दिए।
रास्वपाले यसअघि विपीनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो।
तर सहकारी ठगी प्रकरणमा रास्वपाका सहमहामन्त्रीसमेत रहेका आचार्यसमेत तानिने सम्भावना रहेकाले केन्द्रीय समितिले पराजुलीलाई निर्वाचन समन्वयको जिम्मा दिएको थियो।
‘हामीले सम्भव भएसम्म निर्वाचन हुन लागेका सबै पदमा उम्मेदवारी दिन्छौं। त्यसका लागि बुधबार साँझ जुम बैठक बोलाएका छौं। निर्वाचन हुन लागेको ठाउँमा पार्टीको अवस्था, सम्भावित उम्मेदवारहरूबारे छलफल गर्छौं,’ पराजुलीले जानकारी दिए।
उनले एकभन्दा बढी आकांक्षी देखिएमा प्राइमरी इलेक्सनमार्फत् टुंग्याइने पनि बताए।
‘हामीले सिफारिस गरेर माथिल्लो कमिटीमा पठाउन भनेका छैनौं। आफ्ने उम्मेदवार आफै चयन गर्ने उहाँहरूको अधिकार पनि हो। दुई वा त्यसभन्दा बढी आकांक्षी हुनेबित्तिकै सम्बन्धित समितिले नै प्राइमरी इलेक्सनमार्फत् टुंग्याउने छ,’ उनले भने, ‘सहकारी ठगी, संगठित अपराधको अभियोगमा पार्टी सभापति कास्की प्रहरीको हिरासतमा रहेकाले पनि केही ढिलाइ भयो।’
मंसिर १६ गते स्थानीय तहका ४४ रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ।
नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलले उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेर माथिल्लो कमिटीमा पठाउन निर्देशन दिइसकेका छन्।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखसहित दुइटा वडा (१ र ४ ) को अध्यक्षमा पनि उपनिर्वाचन हुँदैछ।
एमालेले त्यहाँ १० नम्बर क्षेत्रमा पार्टी इन्जार्ज तथा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने तयारी गरेको छ। कांग्रेसबाट ११ जनाको नाम माथिल्लो कमिटीमा आएको छ।
रास्वपाले भने प्रदीप विष्टलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
विष्ट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं १० बाट उम्मेदवार थिए। उनले त्यतिबेला तेस्रो बढी मत ल्याएका थिए।
कांग्रेसका राजेन्द्र केसीले १४ हजार ४६३ मत ल्याएर सांसद जितेका थिए। निकटतम् प्रतिद्वन्द्वी एमालेका हिमेश केसीले ११ हजार ७९१ र विष्टले ८ हजार ७३९ मत ल्याएका थिए।
विष्टलाई हाल निर्वाचन हुन लागेको कीर्तिपुर नगरपालिकाबाट बढी मत आएकाले उनैलाई उम्मेदवार बन्न आग्रह गरिएको रास्वपाका एक नेताले बताए।