नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह सुरू भएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको शालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम आरम्भ भएको हो।
कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेको अवसर पारेर वर्षभरि नै कार्यक्रम गर्न लागेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रले कर्माचार्यको जन्दशताब्दीको अवसरमा देशैभरि कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकेको छ।
आजै माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दी आरम्भको अवसरमा ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचारगोष्ठी गर्दैछ।
दिउँसो साढे १२ बजेदेखि सुरु हुने गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेताहरू मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनील शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौंमा निधन भएको थियो।
विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए। उनी २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए।
पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर संगठनको संस्थापक अध्यक्ष बनेका थिए भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उनले निरन्तर पहल गरेका थिए।