राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।
सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपसभापति अर्यालले गृहमन्त्री लेखकलाई भेटेका हुन्।
उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच सोमबार अपराह्न गृह मन्त्रालयमै भेटवार्ता भएको स्रोतले जनाएको छ।
‘उपसभापति अर्याल सोमबार अपराह्न सवा ५ बजेतिर मन्त्रालयमै आउनुभएको थियो, गृहमन्त्रीज्यूसँग करिब १५ मिनेट कुराकानी गरेर निस्कनुभयो,’ स्रोतले भन्यो।
गृहमन्त्रीको सचिवालयले भने भेटवार्ताबारे खुलाउन चाहेन।
उपसभापति अर्यालले गृहमन्त्री लेखकसँग भेटवार्ता भएको बताए।
‘आज हामी बालुवाटारमा प्रदर्शन गर्दैछौं, त्यसैको शान्ति सुरक्षाका निम्ति गृहमन्त्रीसँग कुराकानी गरेको हुँ, अरू विषयमा कुराकानी भएन,’ उपसभापति अर्यालले सेतोपाटीसँग भने।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन्। गत कात्तिक २ गते लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ गरेर पोखरा लगिएको थियो।
सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रास्वपाले सडक प्रदर्शन गरिराखेको छ। हालै बसेको केन्द्रीय समिति बैठकले उपसभापति अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन पनि गरेको थियो।
यो पनि:
के रवि लामिछानेमाथि इजलासमा हतियारधारी प्रहरीले दुर्व्यवहार गरेको हो?
रास्वपामा दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी
स्वर्णिम वाग्ले नेतृत्वको समितिले को-कोसँग गर्छ संवाद?