प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा शुक्रबार प्रतिपक्षी दलहरूको बैठक बस्यो।
प्रतिपक्षी दलहरूको बैठकमा बैठकमा सरकारमा रहेका लोसपा र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सहभागी रहे। लोसपाबाट एक मन्त्री र नाउपाबाट एक राज्यमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा छन्।
प्रतिपक्षी दल नेतासमेत रहेका अध्यक्ष प्रचण्डले नयाँ बानेश्वरमा राखेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, बाढीपहिरोपछिका अवस्था, सरकारका कामकारबाहीलगायत विषयका साथै रास्वपा सभापति रवि लामिछानेबारे पनि कुराकानी भयो।
बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आजपाका शीर्ष नेता पनि सहभागी थिए।
बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए।
समसामयिक राजनीतिक घटनाक्रमहरूबारे जानकारी गराउने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउबारे भइरहेको चर्चाको ब्रिफिङ गरेका थिए।
‘अहिले रविजीको पक्राउ पर्दै हुनुहुन्छ रे भनेर चर्चा भइरहेको छ। मिडियामा पनि बाहिर पनि कुरा सुनिन्छ,’ अध्यक्ष प्रचण्डको भनाइ उधृत गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने, ‘राज्यले उहाँलाई पक्रिन सक्छ।’
उनकाअनुसार बैठकमा सहभागी सबैले राजनीतिक पूर्वाग्रह साँधेर कसैलाई पनि पक्राउ गर्न नहुने धारणा राखेका थिए।
सहकारी संस्थाको बचत अपचलनमा रास्वपाका सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो।