राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवम् नेताहरू बुधबार मात्रै चीनबाट फर्कने भएका छन्।
रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, डा. तोषिमा कार्की, मनिष झा लगायत १४ सांसद तथा नेता चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणमामा चीन भ्रमणमा छन्।
उनीहरूलाई पार्टीले सोमबार नै फर्कन आइतबार राति निर्देशन दिएको थियो।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवम् ३५ प्रतिशत सेयरधनी छविलाल जोशी पक्राउ परेपछि पार्टी सभापति रवि लामिछाने पनि समातिने आशंका पार्टीले गरेको थियो।
रास्वपाले आकस्मिक कार्यकर्ता भेला गर्दै चीनमा रहेका नेता–सांसदलाई यथाशक्य चाँडो फर्कन आग्रह गर्ने र सभापति पक्राउ परे प्रतिवाद गर्ने जानकारी दिएको थियो।
सांसद एवम् नेताहरूले बुधबारको मात्रै टिकट पाएकाले फर्कन ढिला भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
‘उहाँहरू सोमबारै फर्कने तयारी थियो। तर टिकट नपाएकाले भोलि (बुधबार) मात्रै फर्कनुहुन्छ,’ उनले भनिन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, डा. तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए।
चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका हुन्। भ्रमण तालिका १० दिनको थियो। यस क्रममा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो।