नेपाली कांग्रेसका सांसद गगन थापाले बिजुलीको बक्यौता एक सुका, एक रुपैयाँ पनि कसैलाई छाड्न नसकिने बताएका छन्।
सरकारले उद्योगहरूबाट बिजुली बक्यौता उठाउनुपर्ने उनले बताए।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाऊ भनेर कसैले भन्छ? नउठाउन पाइन्छ? एक रुपैयाँ पनि छोड्न पाइन्न। एक सुका पनि छोड्न पाइन्न, अरबको कुरा होइन।’
सरकारले यस विषयमा सदनबाट जबाफ दिनुपर्ने पनि थापाले बताए। कसैमाथि अन्याय पनि हुन नदिने र अनुचित लाभ पनि एक रुपैयाँ कसैलाई लिन दिन नहुने उनले बताए।
‘राज्यको कोषमा एक रुपैयाँ पनि तलमाथि हुन दिँदैनौं भन्ने कुराको सरकारले ग्यारेन्टी गर्नुपर्छ, विश्वास दिलाउनुपर्छ,’ थापाले भने।
'गिरीबन्धु, भुटानी शरणार्थी, डेडिकेटेड ट्रंक लाइन र सहकारी ठगलाई कारबाही हुनैपर्छ'
महामन्त्री थापाले गिरीबन्धु टी-स्टेट, नक्कली भुटानी शरणार्थी काण्ड, बिजुली बक्यौता र सहकारी ठगीबारे अनुसन्धान गरेर कारबाही हुनुपर्ने विषय उठाए।
‘सरकार फेरियो कुरा फेरिन्छ? फेरिन्न। यो सदनमा हामी पनि छौं। हामी सत्ता पक्ष र प्रतिपक्षमा बस्दा फरक कुरा गर्दैनौं। सत्तामा बस्दै गर्दा गिरीबन्धु देख्दै नदेख्ने, डेडिकेटेड ट्रंक लाइन देख्दै नदेख्ने, बसेर सहकारी मजाले ठग्ने? प्रतिपक्षमा बसेपछि सबै देख्ने होइन,’ उनले भने, ‘हामी उता बस्दा पनि त्यही हो यता बस्दा पनि त्यही हो। गिरीबन्धु, भुटानी, डेडिकेटेड ट्रंक लाइन र सहकारीमा ठगलाई पनि अनुसन्धान गर्नैपर्छ।’