कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
सोमबार न्यायाधीश यदुराज शर्माको इजलासले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाका स्रेस्तेदार कैलाश प्रसाद भट्टराईले जानकारी दिए।
नागरिकता सम्बन्धी कसुरमा नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो।
पक्राउ गर्न अनुमति लिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मीसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालय पुगेर उनलाई त्यही साँझ पक्राउ गरेको थियो।
पक्राउ परेका सिरोहियालाई प्रहरीले त्यही राति गाडीमा धनुषा पुर्याएको थियो।
सुरूमा अदालत पेश गरिएका उनलाई अदालतले अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको थियो।
उक्त म्याद सकेर दोस्रो पटक जेठ ११ गते (शुक्रबार) अदालतमा पेश गरिएको थियो। त्यस दिन अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
मुटुको समस्या देखिएपछि प्रहरीले उनलाई त्यस राति जनकपुर प्रादेशिक अस्पतालमा पुर्याएको थियो। त्यहाँबाट थप उपचारको लागि काब्या अस्पतालमा राखिएको थियो।
सोमबार पुन: उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो।