कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज चौथोपटक विश्वासको मत लिँदैछन्।
गत फागुनमा संघमा दलहरूबीच गठबन्धन टुटेपछि कर्णालीमा पनि नेपाली कांग्रेसले माओवादीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
फागुन २२ गतेदेखि लागू हुने गरी समर्थन फिर्ता लिएपछि शर्माले विश्वासको मत लिनुपर्ने आज अन्तिम दिन हो। उनले आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पठाइसकेका छन्।
नयाँ गठबन्धनअनुसार सत्ता साझेदारका रूपमा रहेको नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दल भने आजसम्म पनि अन्योलमा छ। एमालेले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा टुंगो लगाएको छैन।
विश्वासको मत लिने मुख्य कार्यसूची भएको प्रदेश सभाको वैठक दिउँसो ३ बजे बस्दैछ।
एमाले कर्णाली प्रदेश सभा दलले माओवादीबाट मुख्यमन्त्री रहेका शर्माले विश्वासको मत लिनेसम्बन्धि प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राखेको छ।
‘केन्द्रमा एक खालको सहमति भएर कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने कुरा भइसकेको छ, यसले गर्दा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुको विकल्प छैन,’ एमालेका सांसद जीतबहादुर मल्लले भने, ‘राजनीतिक परिस्थिति फेरबदल भइसकेको समयमा शीर्ष नेतृत्वले भनेबमोजिम नै कर्णालीको नेतृत्व जानुपर्छ।’
मुख्यमन्त्री शर्माले प्रस्ताव फिर्ता नलिए एमालेले विश्वासको मत दिने सम्भावना न्यून रहेको उनले बताए।
सत्ता साझेदार दलहरूबीचको समझदारीविपरित मुख्यमन्त्री गएमा अर्को सत्ता साझेदार दलबीच फेरि विग्रह पैदा हुने मल्लले बताए।
यो पनि
प्रचण्डको निर्देशनविपरीत कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै