मंगलबारदेखि वीरेन्द्रनगरमा सुरू भएको तेस्रो कर्णाली एक्स्पो–२०८० को उद्घाटन समारोहमा नेपाली कांग्रेसका उपसभापति, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रमुख अतिथि थिए। कर्णालीका मुख्यमन्त्री, सांसददेखि विभिन्न राजनीतिक दलका नेताहरूलाई विशिष्ट अतिथिका रूपमा बोलाइएको थियो।
महोत्सव उद्घाटन समारोहका विशिष्ट अतिथिहरूमध्येमै थिए प्रतिनिधि सभा सदस्य हृदयराम थानी।
कर्णालीको कांग्रेस राजनीतिमा खड्का र थानीलाई पार्टीभित्रका ‘गुट लिडर’ का रूपमा लिइन्छ। खड्का प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्छन् भने थानी २ बाट प्रतिनिधित्व गर्छन्।
बाहिर मनमुटाव जस्तो नदेखिए पनि कर्णालीको कांग्रेस राजनीतिमा यी दुई नेताहरूका भिन्न विचार छन्। उनीहरू एकअर्काको अस्तित्व र निर्णयलाई स्वीकार्न हिचकिचाउँछन्। सुर्खेतमा सुरू भएको महोत्सवको उद्घाटन समारोहमा यी दुई नेताले यस्तै परिवेशमा आफ्ना मन्तव्य राखे।
खड्काभन्दा केही समयअघि बोलेका थानीले खड्कालाई केही आरोप लगाए।
उनको पहलमा भइरहेका केही कामहरूलाई जनताको इच्छाविपरीत शक्ति र पहुँचका भरमा गरिएको भन्दै थानीले रोष प्रकट गरे। खड्काले पनि आफ्नो मन्तव्य राख्ने क्रममा थानीले इंगित गरेका विषयमा प्रतिवाद गरे।
प्रतिनिधि सभा सदस्य थानीले वीरेन्द्रनगरमा भएको पुरानो विमानस्थललाई विस्तार गर्नुको साटो पूर्वी क्षेत्रमा नयाँ विमानस्थल निर्माण गर्न पहल गरिरहेको आरोप खड्कालाई लगाए।
सुर्खेतमा स्थापना गरिएको भेरी करिडोरको कार्यालयलाई पूर्वको आफ्नो निर्वाचन क्षेत्रमा पहुँचका भरमा सारेको आरोप उनले लगाए।
‘सुर्खेतमा भएको विमानस्थलमा वृक्षरोपण गरेर अर्को ठाउँमा विमानस्थल बनाउन खोजिएको छ, भेरी करिडोरको कार्यालय वीरेन्द्रनगरमा थियो, त्यसलाई आज बोटेचौरमा पुर्याइएको छ,’ खड्कालाई इंगित गर्दै थानीले भने, ‘सुर्खेतको घाट गाउँदेखि डोल्पासम्मको विकास लक्ष्य राखिएको करिडोरको कार्यालय वीरेन्द्रनगरबाट भाडा तिर्नेगरी अन्यत्र सारिएको छ, शक्ति र पहुँचका भरमा कार्यालय सार्ने काम नगरौं। यस्तो गर्नुपर्ने हो भने सर्वदलीय बैठक बसौं, सबै नेताहरूलाई बोलाऔं। यसरी सहमतिमा कुनै कार्यालय जुम्ला वा हुम्ला लिनुपर्छ भने मेरो आपत्ति छैन। तर शक्तिका भरमा मुलुक चलाउन पाइँदैन।’
मन्तव्यकै क्रममा पहुँचका भरमा अन्यत्र सारिएका कार्यालयहरूलाई प्रदेश राजधानी वीरेन्द्रनगरमा फर्काउन आफूले टोलदेखि संसदसम्म कुरा राख्ने प्रतिवद्धता पनि थानीले जनाए।
उनले संसदमा बुद्धिमतापूर्ण निर्णय नगर्दा कर्णाली प्रदेश स्थापना गर्न चार जनाले ज्यान गुमाउनुपरेको टिप्पणीसमेत गरे।
उनले अगाडि भने, ‘यो कर्णाली प्रदेश सहिदहरूले आफ्नो रगत बगाएर आएको हो, हामीले बुद्धिमतापूर्ण तरिकाले संसदबाटै समाधान गरेको भए चार जनाले ज्यान गुमाउनुपर्ने थिएन, माथिका निर्णय मान्दैनौं भनेर सडकमा उत्रिएर गोली खाएर स्थापना गरेको प्रदेश हो।’
उनले विकासको श्रेय म मात्र लिन्छु भनेर कोही अघि बढ्नु गलत भएको टिप्पणी गरे।
कर्णालीको विकासका लागि सबै दल एक भएर अघि बढ्नुपर्ने सुझाउँदै थानीले सबै राजनीतिक दलका मानिस एक ठाउँमा बसेर सल्लाहमार्फत् प्रदेशको विकासका लागि चाहिने कुरा केन्द्र सरकारसमक्ष पेश गर्नुपर्ने बताए।
थानीपछि दुई जना अतिथिले बोलिसकेपछि मन्तव्य राखेका उपसभापति खड्काले थानीले गरेका टिप्पणीमा प्रतिवाद गरे।
वीरेन्द्रनगरमा हाल सञ्चालनमा रहेको विमानस्थललाई नियमित संघीय राजधानीसम्म उडान गर्न सबै राजनीतिक दलका भूमिका रहेको उनले बताए।
विमानस्थलमा संरचना र सामग्री विस्तार गर्न आफूले भूमिका खेलेको उनले बताए।
‘अहिले चलिरहेको विमानस्थलको सुधार, प्रगति, विस्तारमा कुनकुन चरणमा कुनकुन दलका नेताहरूले के–के ग¥यौं, प्रदेशले छुट्याएको एक करोड बजेट कार्यान्वयन नभएर किन फिर्ता गयो?’ थानीले गरेको टिप्पणीप्रति लक्षित गर्दै खड्काले भने, ‘रामघाटमा विमानस्थल निर्माणको प्रक्रिया न मैले अघि बढाएको हो, न त थानी जीले अघि बढाएको हो, त्यो त तत्कालीन पर्यटन मन्त्री कर्णाली प्रदेशकै भएका बेला सुर्खेतमा ठूलो विमानस्थल बनाउनुपर्यो भनेर योजना अघि बढेको हो। वीरेन्द्रनगरमा जग्गा अधिग्रहण गरेर जनतालाई उठाउन सकिँदैन र दुवैतर्फको धावनमार्ग प्रयोग गर्न मिल्ने विमानस्थल रामघाटमा बनाउनुपर्छ भन्ने कुरा भएको हो।’
उनले अगाडि भने, ‘यो कुरा यदि यहाँका जनतालाई चाहिँदैन भने कर्णाली प्रदेश सरकारले त्यसको निर्णय भएको फाइल बन्द गरोस्, यो निर्णय गर्ने अधिकार कर्णाली प्रदेशको मन्त्रिपरिषदलाई छ। विमानस्थलको विषयमा एकले अर्कोलाई प्रश्न गरेर, आरोप लगाएर समाधानको बाटोबाट हामी उम्किनु हुँदैन।’
खड्काले वीरेन्द्रनगरमा भएको भेरी करिडोरको कार्यालय बोटेचौरमा सारिएको कुरामा वास्तविकता नभएको बताए।
विगतमा विभिन्न अडान लिएर स्थापना गरिएको करिडोरको परियोजना भेरी बबई डाइभर्सन आयोजनामा विलिन गरिएको पाइएपछि बोटेचौरमा पुनः कार्यालय स्थापना गरिएको उनले बताए।
‘कर्णाली प्रदेशको संसदमा पनि यो कुरा उठ्यो, आज पनि यो कुरा यहाँ आयो,’ मन्तव्यका क्रममा खड्काले भने, ‘म प्रष्ट पार्न चाहन्छु, डाइभर्सनको आयोजनाबाट प्रभावित भेरी नदी वारिपारिको बस्तीका लागि सिँचाइ, सडक, विद्युत, खानेपानी जस्ता सुविधा दिन भेरी करिडोर योजना बनाएर ल्यायौं, यसका लागि थुप्रै संघर्ष पनि गरेका छौं। पछि डाइभर्सनमा करिडोरको परियोजना पनि विलिन भएको पाइएपछि हामीले बोटेचौरमा कार्यालय स्थापना गरेका हौं।’
डाइभर्सनअन्तर्गत करिडोर राख्दा ठूलो परियोजनामा करिडोरको काम हराउँछ भनेर छुट्टै कार्यालय स्थापना गर्न खोजिएको उनले बताए।
डाइभर्सन आयोजनाअन्तर्गत रहनेगरी डिभिजनका रूपमा स्थापना गरिएको करिडोरको कार्यालय पुनः डाइभर्सनमै विलिन गर्ने षड्यन्त्र भएको पाइएपछि मन्त्रिपरिषदबाट निर्णय गरेर पूर्वी सुर्खेतमा कार्यालय स्थापना गरिएको खड्काले बताए।
‘संघीयतापछिको पहिलो निर्वाचनपछि त्यो डिभिजन कार्यालयको बोर्ड पनि हटाइयो, दोस्रो निर्वाचन सकिएपछि हामीले खोजी गर्यौं र त्यसक्रममा करिडोरको कार्यालय डाइभर्सनमै विलिन गरेको पायौं,’ उनले भने, ‘त्यसपछि हामीले प्रभावित क्षेत्रका विभिन्न सुविधा समावेश गरेर भेरी करिडोरको नयाँ आयोजना मन्त्रिपरिषदबाट निर्णय गराएर बोटेचौरमा स्थापना गरियो, वीरेन्द्रनगरमा भएको कार्यालय सारिएको होइन।’
आफ्नो मन्तव्यका क्रममा उपप्रधानमन्त्री खड्काले कर्णालीका नागरिकले आशा गरेजस्तो जनप्रतिनिधिले काम गर्न नसकेको आत्मस्वीकारोक्ति गर्नुपर्ने बताए।