नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निराशा र आक्रोश अरूतिर मात्रै थोपरेर देश विकास नहुने बताएका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आफूले संसदमा बोलेका भाषणहरूको संग्रह विमोचनमा बोल्दै अध्यक्ष ओलीले सकारात्मकताका लागि राष्ट्रिय आत्मविश्वासको खाँचो रहेको बताए।
‘प्रतिबद्धता मात्रै हुँदा हाम्रो देश जसरी पनि बन्ने देश हो। हामी बनाउन सक्छौं। आज पनि राष्ट्रिय आत्मविश्वासकाको खाँचो छ, त्यो कहाँबाट प्राप्त हुन्छ भने व्यक्ति, व्यक्तिमा आत्मविश्वास जगाउन जरूरी हुन्छ। निराशा, आक्रोश, उत्तेजना, दोष अरूतिर मात्रै थोपरेर पुग्दैन। हामी सकारात्मक कुरा के गर्छौं त?,’ उनले भने।
उनले यहाँका युवा विदेश गएर अरू देश बनाउन सक्ने, आफ्नो मुलुक बनाउन नसक्ने भन्ने नहुने बताए।
‘हाम्रोजस्तो ४० वर्षभन्दा मुनिका युवा जनसंख्या भएको देश, ६० प्रतिशतभन्दा जनसंख्या सक्रिय जनसंख्या भएको देश, यस्तो उर्वर देश, अलिक वर्ष यस्तै असफल भयौं भनेर त ज्येष्ठ नागरिकको संख्या भएको, काम गरेर खानेभन्दा आश्रितहरूको देश हुन्छ। उत्पादन गर्नेभन्दा उत्पादनको खपत गर्ने बढी भएको देश हुन्छ। त्यो हुनुभन्दा अगाडि विकास गरिएन भने राष्ट्र असफल हुने खतरा हुन्छ,’ उनले भने।
अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन बढाउन सुशासनको खाँचो रहेको औंल्याए। ‘त्यसका लागि भ्रष्टाचार न्यूनता र शून्यतामा नलाने हो भने देश कसरी विकास हुन्छ?,’ उनले भने।