भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ।
बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार आगजनी भएको थियो। कोरियाली भाषा परीक्षा आवेदनसम्बन्धी विषयमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए।
सो क्रममा बालकुमारी-ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडपसमेत भएको थियो।
करिब २३ वर्षीय सुजन रावतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले सेतोपाटीलाई बताए।
रावत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
रावतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए। रावतको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको हो।
अस्पताल पुर्याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।
यस्तै घटनामा परी घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी कुवेर कडायतले पाटन अस्पतालमा उपचारका क्रममा शाहको मृत्यु भएको सेतोपाटीलाई बताए।
‘उनलाई गोली लागेको हो कि होइन खुलिसकेको छैन, रिपोर्ट आएपछि मात्र खुल्छ,’ उनले भने।