नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले पार्टी सत्तामा नजाँदा पनि निरास हुने र सत्तामा गएपछि पनि कति बसिराख्या भन्ने खालका प्रश्न आइरहेको बताएका छन्।
आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले पार्टी सत्ताबाट बाहिर हुँदा केन्द्रदेखि प्रदेशसम्म निरासा देखिएको बताए।
‘हामी सत्तामा नहुँदा निरास हुने। सत्ता भएपछि पनि किन सत्तामा बसिराख्या भन्ने मानसिकताका साथ नजाऔं न,’ उनले भने।
अबको चुनावमा गठबन्धन गर्ने वा नगर्ने बहस अहिले आवश्यक नभएको उनले बताए। ‘अर्को चुनाव एक्लै जाने कि गठबन्धन गर्ने अहिले बहस नगरौं। पार्टी बलियो बनाउनतिर लागौं,’ उनले भने।