नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धन भित्र मोरङमा भाँडभैलो हुने संकेत देखिएको छ।
दुवै गठबन्धनका दलले अलग अलग उम्मेद्वारी दिने भएपछि दुवैतर्फ यस्तो देखिएको हो।
मोरङ ४ को प्रदेशसभा निर्वाचन क्षेत्र ख मा गठबन्धनबाट कांग्रेसका भीम पराजुलीले टिकट पाएपछि एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले पनि उम्मेद्वारी दिने तयारी गरेका छन्।
‘हामी उम्मेद्वारी दर्ताका लागि निर्वाचन कार्यालय जाँदैछौं’, समाजवादीकी नेतृ निलम ढुंगेलले भनिन्, ‘प्रदेशमा हाम्रो उम्मेद्वारी रहन्छ।’
पार्टी अध्यक्ष माधवकुमार नेपालले टिकट पठाइदिएपछि रेग्मीले उम्मेद्वारी दर्ता गर्न लागेका हुन्। मोरङ ४ को दुवै प्रदेशसभा कांग्रेसले र संघ माओवादीले पाउने भएपछि समाजवादी असन्तुष्ट बनेको थियो। प्रदेशका पार्टी सचिवसमेत रहेका रेग्मीले फिर्ता नहुने गरी उम्मेद्वारी दिन लागेको बताएका छन्।
सत्ता गठबन्धनभित्र यस्तो असन्तोष देखिँदा विपक्षी गठबन्धनमा पनि उस्तै संकेत देखापरेको छ।
सत्ता गठबन्धन छाडेर एमालेसँगको गठबन्धनमा सामेल भएको जनता समाजवादी पार्टीले पाउने भनेको सीटमा एमाले आफैंले उममेद्वारी दिन लागेको छ।
मोरङका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ तथा प्रदेशसभाको ४ ‘ख’ ५ ‘ख’ र ६ ‘ख’ जसपालाई दिने र अन्य क्षेत्रमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति ती दुई पार्टीबीच भएको थियो। तर, मोरङको क्षेत्र नं ४ ‘ख’ मा एमाले अध्यक्ष केपी ओलीले जीवन घिमिरेलाई उम्मेदवारी दर्ताको पत्र दिएका छन् भने ६ ‘ख’ मा पर्शुराम बस्नेतलाई पनि पत्र दिएका छन्।
‘हामी टिकट लिएर दमकबाट विराटनगर आउँदैछौं’, नेता जीवन घिमिरेले उनका कार्यकर्तालाई केहीबेर अघि फोनमा भनेका छन्,‘ हामी उममेद्वारी दर्ता गराउने हो।’
एमाले–जसपा गठबन्धनबाट ४ ‘ख’ मा सञ्जय सिंह र ६ ‘ख’ बाट राजेन्द्र गुप्ता उम्मेदवार बन्ने तयारी छ। ‘त्यो क्षेत्रमा एमाले–जसपा गठबन्धनको आधिकारिक उम्मेद्वार हामी नै हौं’, जसपा नेता जयराम यादवले भने, ‘हामी उम्मेद्वारी दर्ता गर्नेछौं।’