नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच निर्वाचन क्षेत्र बाँडफाँटका लागि सहमतिको अन्तिम तयारी भएको छ। उनीहरूबीच आजै लिखित सहमति गर्ने गरी छलफल भइरहेको छ।
एमाले र जसपाका नेताबीच भएको छलफलमा निर्वाचन क्षेत्रको आजै टुंगो लगाउने तयारी भएको एमालेका एक नेताले बताए।
'मोटामोटी टुंगिसकेको छ। केही क्षेत्रमा मिल्न बाँकी छ। त्यसको पनि आज राति अबेरसम्म टुंगो लाग्छ,' एमालेका ती नेताले भने, 'जसपालाई मधेस प्रदेशमा १६ सहित २५ ठाउँमा सिट दिने अनौपचारिक सहमति भएको छ। यसको टुंगो आजै लगाउनु पर्छ।'
जसपाका एक नेताले पनि बाँडफाँटको टुंगो आजै लगाउने बताए। उनले अनौपचारिक सहमति भइसकेको भन्दै लिखित सहमतिमा हस्ताक्षर मात्रै हुन बाँकी रहेको बताए।
'मधेसमा हामीले ३२ मध्ये १६ सिट पाउँछौं। धनकुटा, मोरङ, सुनसरी, कपिलवस्तु, बाँके र नवलपरासीमा एक/एक क्षेत्र पाउछौं,' ती नेताले भने, 'काठमाडौं क्षेत्र नम्बर ७ दिन पनि एमाले तयार भएको छ। अरू २ क्षेत्र कतै थपिन सक्छ।’
संघीय संसदकै अनुपातमा प्रदेश सभामा पनि सिटहरू आफूहरूको भागमा पर्ने जसपाको दाबी छ।
यो पनि पढ्नुहोस्ः पार्टी नेतालाई बालुवाटारमै छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव पुगे बालकोट