नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकाको नेशनल गार्डको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन गरेको पत्र सार्वजनिक भएको छ।
सेतोपाटीले प्राप्त गरेको पत्रअनुसार २७ अक्टोबर २०१५ मा क्षेत्रीले अमेरिकी राजदूत अलाइनना बी टेप्लिजलाई नेशनल गार्डको पार्टनरसिप प्रोग्राममा सहभागी हुन पत्र पठाएका थिए।
क्षेत्रीले पत्र पठाउँदा केपी शर्मा ओली प्रधानमन्त्री थिए। ओली ११ अक्टोबर २०१५ मा संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए।
त्यतिबेला पठाइएको पत्रमा क्षेत्रीले नेपाल सरकारबाट अनुमति प्राप्त भएअनुसार औपचारिकरुपमा स्टेट पार्टनरसिप प्रोग्राम स्थापनाका लागि आग्रह गरेको उल्लेख गरेका छन्।
'यो कार्यक्रमले हाम्रो लामो समयदेखिको सम्बन्धलाई मजबुत पार्नेछ साथै द्विपक्षीय सुरक्षा सम्बन्ध मजबुत बनाउनेछ त्यस्तै सैन्य क्षमता, अनुभव तथा सुरक्षा सम्बन्धी ज्ञान वृद्धि गर्छ', पत्रमा भनिएको छ, दुई पक्षबीच साझेदारी वृद्धि हुनुका साथै आगामी दिनमा दुई पक्षको सुरक्षा दुई सहकार्य बढ्नेछ।'
पत्रमा नेपालको विपद व्यवस्थापनको तयारी अवस्थाका लागि तथा विभिन्न संकट व्यवस्पनमा सहयोग पुग्ने अपेक्षा नेपालले गरेको छ।
त्यस्तै हवाई क्षेत्रमा आवश्यक सहयोग, हवाई मर्मत सम्भार, पूर्वाधार निर्माण तथा नेपालको प्राकृतिक स्रोत साधनको सुरक्षा तथा नेपाली सेनाका अधिकृतहरुको व्यवसायिक विकासमा सहयोग पुग्ने अपेक्षा नेपालले गरेको छ।
बुधबार अमेरिकी दुतावसाले नेपाली सेनाको पत्रका आधारमा सन् २०१९ मा नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राममा छनौट गरिएको उल्लेख गरेको थियो।
सन् २०१५ र सन् २०१७ मा प्राप्त पत्रका आधार आफूहरुले नेपाली सेनालाई उक्त कार्यक्रममा सामेल गरेको उल्लेख गरेको थियो।
हेर्नुहोस् पत्र: