नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाएका छन्।
पार्टी संगठनका लागि लामो समयदेखि काम गरिरहेकाहरूलाई अन्याय हुने गरी पैसा र गुटको शक्तिका आधारमा कांग्रेसले उम्मेदवार चयन गरेको उनको आरोप छ।
उनले स्थानीय चुनावपछि सक्रिय राजनीतिबाट बिदा लिनेबारे आफूले सोच बनाएको पनि बताए।
‘सक्रिय राजनीतिबाट बिदा लिऔं कि भन्ने लागेको छ,’ उनले भने, ‘स्थानीय तह चुनावपछि यसबारे निर्णय लिन्छु।’
उनले पार्टीका केही राम्रा साथीहरूले स्थानीय चुनावमा टिकट पाएकोले उनीहरूलाई स्थानीय चुनावमा सहयोग गर्ने पनि बताएका छन्।
घिमिरे कांग्रेस महाधिवेशनमा प्रदेश नम्बर १ को सभापति पदमा दुई भोट नपुगेर पराजित भएका थिए। हालै टिकट वितरण गर्न बसेको प्रदेश नम्बर १ पार्टी संसदीय समिति बैठकबाट पनि उनी असन्तुष्टि जनाउँदै बाहिरिएका थिए।
घिमिरेले उम्मेदवार छनौट गर्दा पार्टीले इमानदार नेता/कार्यकर्तालाई अन्याय गरेको बताएका छन्।
‘पद्धतिगत र विधिवत ढंगले टिकट वितरण भएन। धेरै साथीहरूलाई यसबाट अन्याय भएको छ,’ सेतोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘केही राम्रा साथीहरूले पनि अवसर पाएका छन्। तर पार्टीका धेरै साथीलाई पहुँच, पैसा, शक्ति र दादागिरीका आधारमा टिकट दिइएको छ।’
कांग्रेसजस्तो ठूलो र धेरै नेता भएका पार्टीमा कार्यकर्तामाथि अन्याय भयो भनेर बोलिदिने एक जना पनि नदेखिएको उनले बताए।
‘बिपी कोइरालाले नै भन्नुभएको थियो- पार्टीमा अन्याय हुँदा टुलुटुलु हेरेर बस्नु भनेको दासता हो,’ उनले भने, ‘आज बिहान उठ्नेवित्तिकै मैले बिपीका कुरा सम्झेँ। यस्तो अन्याय राजनीतिको म निरन्तर साझी भएर किन बस्ने?’
उनले स्थानीय निर्वाचनसम्म राम्रा साथीका प्रचारमा जुट्ने पनि बताए। ‘स्थानीय निर्वाचनपछि सक्रिय राजनीति छाड्ने कि भन्ने एउटा सोच आयो,’ उनले भने, ‘निर्वाचनभर म राम्रा साथीलाई मद्दत गर्छु। अहिले निष्कृय हुँदा राम्रा साथीलाई अन्याय होला।’