पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले नेपाललाई थप हवाई रूट दिन भारतीय समकक्षी ज्योतिरादित्य सिंधियासँग प्रस्ताव गरेको बताएका छन्।
प्रस्तावमा भारतका उड्यनमन्त्री सिंधिया सकारात्मक भएकाले छिट्टै रूट पाउने मन्त्री आलेले जानकारी गराए।
‘मैले तीन महिनाअघि भारत जाँदा पनि समकक्षी सिंधियासँग प्रस्ताव गरेको थिएँ, हिजो हैदरावादमा भेट्दा पनि छलफल गरेको छु,’ उनले भने, ‘छिट्टै हवाई रूट प्राप्त गर्ने कुरा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु।’
भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गरेको सम्मेलनमा भाग लिएर मन्त्री आले शुक्रबार काठमाडौं फर्किएका थिए।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण समारोहका लागि आफू रातारात हैदरावादबाट काठमाडौं फर्किएको मन्त्री आलेले बताए।
चीनको २२ अर्ब ऋणमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ सरकारी कम्पनी सिएएमसीईले निर्माण गरेको हो। विमानस्थलको चाबी चीनका विदेशमन्त्री यीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा शनिबार परराष्ट्रमन्त्री नारायण खड्कालाई हस्तान्तरण गरेका थिए।
विमानस्थल हस्तान्तरणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न रूटको समस्या नहुने दाबी गरे। नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाँदा भारतले विभिन्न रूट दिए पनि नेपाल भित्रँदा सिमराबाहेक अन्य रूट नदिएको मन्त्री आलेले बताए।
‘हामी यहाँबाट अन्य देशमा उडान गर्दा महेन्द्रनगर, कञ्चनपुरहुँदै, टनकपुर हुँदै जान्छौं, तर त्यहीँ रूटबाट फर्कन पाएको अवस्था छैन,’ उनले भने, ‘नेपालबाट बाहिर जान दिएको रूटबाट नेपाल भित्रन दिन पनि मैले भारतका समकक्षीलाई अनुरोध गरेको छु।’
नागरिक उड्यन प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडान नेपाल भित्रन भारतले थप रूट दिनेबारे २०७५ असार २ गते सहमति भएको थियो। नेपाल नागरिक उड्यन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच भएको सहमति पत्रमा भारतले नेपाललाई थप ४ वटा हवाई रूट दिने उल्लेख भएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
उक्त सम्झौता २०१८ सेप्टेम्बर भित्र लागू हुने भनिए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। भारतले सिमराबाहेक अन्य स्थानबाट हवाई रूट नदिँदा नेपालमा निर्माण सकिएको भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अन्यौलमा छ।
भारतले सम्झौता अनुसार रूट दिएमा महेन्द्रनगर, जनकपुर, नेपालगञ्ज र विराटनगर रूट प्रयोग गर्न सकिने प्राधिकरणका ती अधिकारीले बताए। अहिले नेपालबाट बाहिरिँदा महेन्द्रनगर, विराटनगर, भैरहवा र जनकपुरको बाटो भएर हवाइजहाज बाहिरिन्छन्। तर यी बाटोबाट जहाज नेपाल आउन भारतले रूट अनुमति दिएको छैन ।
भैरहवाको गौतमवुद्ध, निजगढ र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र महेन्द्रनगर रूटबाट उच्च उचाईमा उडान भर्न भारतले प्राविधिक अध्ययन गर्न समेत सहमति जनाएको थियो। तर एयर रुट दिनेबारे भारतीय पक्षले अहिलेसम्म अग्रसरता नलिएको प्राधिकरणले जनाएको छ ।
पर्यटनमन्त्री आलेले पोखरा विमानस्थलबाट एसियाका विभिन्न देशमा उडान भर्नसक्ने बताए। यसका लागि विभिन्न हवाई कम्पनीले इच्छा जनाए पनि औपचारिक छलफल भने नभएको उनको भनाई छ ।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न भारतसँग भैरहवा रूट लिनुपर्ने विज्ञहरुको सुझाव छ। सिमराको रूट लामो र महँगो पर्ने भन्दै पोखराका लागि सबैभन्दा छोटो रूट भैरहवा भएको उनीहरुको दाबी छ।
पोखरा विमानस्थलका बारेमा अध्ययन गरेका अध्येता डा. दिनेश प्रसाईले रूट लिन सरकारले ढिलाई गरेको बताए। ‘एयर रूट लिन सरकारले पहिल्यै गृहकार्य गर्नुपर्थ्यो,’ प्रसाईले भने, ‘यसबारे सरकार गम्भीर नै भएन।’
फोर डी मोडलमा बनेको पोखरा विमानस्थलमा १५० देखि १८० जना यात्रु बोक्ने न्यारोबडी जहाजले मात्र उडान भर्नसक्छ। ‘भारतले एयर रूट नदिएमा यात्रा लामो हुने भएकाले महँगो पर्न जान्छ,’ प्रसाईले भने, ‘त्यसमाथि न्यारोबडी जहाज भन्ने वित्तिकै थोरै यात्रु हुने भएकाले थप महँगो पर्छ।’
पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न भारतसँग वार्ता गरेर छोटो दूरीको रुट लिनुको विकल्प नभएको प्रसाइको निष्कर्ष छ।
आन्तरिक उडान मात्र सञ्चालन गर्न पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नपर्ने भन्दै उनले विमानस्थल सञ्चालन गर्न खर्च घटाउनुपर्ने बताए।
‘पोखराबाट अन्तर्राष्ट्रिय उडान भए पनि नभए पनि चीनको एक्जिम बैंकको २२ अर्ब त तिर्नैपर्छ,’ प्रसाईले भने, ‘सरकारले ठूला पूर्वाधारमा लगानी गर्दा सञ्चालनबारे समयमै सोच्न सकेन।’