प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरूद्ध ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो।
सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको बैठकले आरोप लगाएको छ।
बैठकपछि संवाददातासँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरूद्धका गतिविधि गरेको भन्दै महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए।
महासचिव पोखरेलले सोमबार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने बताए।