नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै पहलकदमी नलिएसम्म नेतृत्वको पुस्तान्तरण नहुने बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै न्यौपानेले अहिलेको राष्ट्रिय सम्मेलनबाट प्रचण्डले पहलकदमीको सुरूआत गरे अर्को महाधिवेशनमा पुस्तान्तरण सम्भव रहेको बताए।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १४ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनले माओवादी केन्द्रको नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
न्यौपानेले अहिलेकै सम्मेलनबाट औपचारिक रूपमा नेतृत्व हस्तान्तरण हुन्छ भन्ने बुझाइ आफूसँग नरहेकोसमेत स्पष्ट पारे।
‘हाम्रो पार्टी अध्यक्ष स्वयंले म अभिभावकीय भूमिकामा बस्छु भनेर प्रस्ताव गर्नुभयो र एउटा विधि निश्चित गरेर त्यो विधिमार्फत् जो आउँछ त्यसलाई सबैले नेतृत्व मानेर जानुपर्छ भनेर उहाँले पहल गर्नुपर्छ। यस्तै भयो भने यो सम्मेलन पछाडिको अर्को महाधिवेशनसम्म नेतृत्व हस्तान्तरणको प्रक्रियाले मूर्त रूप लिनसक्छ,’ उनले भने,‘उहाँले त्यो प्रक्रियाको प्रस्ताव गर्नुभएन, नेतृत्व गर्नुभएन र पहलकदमी लिनुभएन भने अरूले गरेर यो विषयवस्तु सहजतापूर्वक टुंगोमा पुग्छ र पुस्तान्तरण हुन्छ भन्ने म ठान्दिनँ।’
उनले अहिलेकै संसदीय व्यवस्था भित्रबाट समाजवाद ल्याउन नसकिनेसमेत दाबी गरे।
'अन्तर्राष्ट्रिय अनुभवमा संसदवादबाट बुर्जुवाहरूसँग प्रतिस्पर्धा गरेर अकुत सम्पत्ति कमाएर त्यसले समाजवाद ल्याउँछ भन्ने कुरा मार्क्सवादसँग मेल खाँदैन। दुनियामा अहिलेसम्म कुनै पनि मार्क्सवादी, कम्युनिष्ट पार्टीहरूले यस्तो प्रयोग गरेका छैनन् र प्रयोग गर्न कोशिश गरेकाहरू पनि सफल भएका छैनन्,' उनले भने,'हामी अपवाद हुने हो भने हाम्रो अध्ययन अनुसन्धान खोज र नयाँ निष्कर्ष पनि हामीले निकालिसकेका छैनौं। त्यसैले संसदीय व्यवस्था भित्रबाट, संसदवादबाट बुर्जुवाहरूसँग चुनावी प्रतिस्पर्धा गरेर समाजवाद आउने कुरा मार्क्सवाद बाहिरको कुरा हो भन्ने कुरा प्रष्टसँग भन्न सकिन्छ।'
माओवादी केन्द्रको आसन्न राष्ट्रिय सम्मेलन र यसले लिन सक्ने नीति र नयाँ नेतृत्वको विषयमा केन्द्रीत रहेर हामीले माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसँग भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंशहरू यसप्रकार छन्:
-माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १४ गतेसम्म हुन्छ। यो मुख्यत: माओवादी आन्दोलनलाई विचार कार्यदिशा र संगठनात्मक हिसाबले पुनर्गठित गर्नका लागि एउटा महत्वपूर्ण केन्द्रीकरण हो भन्ने हामीभित्र छलफल चलिरहेको छ। यद्यपी विचारको तहमा सार्वजनिक हिसाबले धेरै बहस अन्तर्क्रिया हुन सकेको मैले देखेको छैन।
-अहिले हाम्रो एउटा निष्कर्ष के छ भने विचारमा विकास नगरिकन माओवादी आन्दोलनलाई नयाँ ढंगले पुनर्गठित गर्न पनि सकिँदैन। समाजवादको आधार तयार गर्न पनि सकिँदैन भन्ने एउटा मूलभुत विषय त्यहाँ छ। त्यसकारण विचारको विकास जरूरी छ। यही सम्मेलनबाट विचारको एउटा उत्कर्ष हुन्छ र निष्कर्ष निकाल्छौं भन्ने हुँदैन। त्यसको लागि हामी महाधिवेशनसम्म जानुपर्छ।
-हामीले समाजवाद भनेका छौं। समाजवाद प्राप्त हुने बाटो के हो? संसदवाद हो, बुर्जुवाहरूसँगको चुनावमा प्रतिस्पर्धा हो? या मार्क्सवादले परिकल्पना गरेको जस्तो अलिकति वर्ग, वर्ग संघर्ष र वर्गसंघर्ष एउटा ठाउँमा पुगेपछि विरोधी वर्ग बीचको आमनेसामनेको लडाइँ हो। यसबारे हामीभित्र स्पष्ट धारणा संगठित भएको छैन। र त्यो स्पष्ट धारणा हामीले सार्वजनिक गर्न पनि सकेका छैनौं।
-आजको दैनिकी र हाम्रो तयारी हेर्ने हो भने संसद र प्रतिस्पर्धामा केन्द्रीत भएको देख्छौं। दुनियाँमा संसदबाट समाजवाद आएको एउटा पनि उदाहरण छैन। मार्क्सवादले त्यो परिकल्पना गरेको पनि छैन। आजको समय आजको समाज र आजको दुनियाँ फरक ठाउँमा आइपुगिसकेपछि त्यो एउटामात्रै तरिकाबाट समाजवाद स्थापित हुन्छ भन्ने मान्यताबाट पनि हामी अडिराख्न सक्ने स्थिति छैन। त्यसो हुनाले कार्यदिशाबारे हामीले छलफल गर्नुपर्नेछ। माओवादीले समाजवादको आधार तयार गर्ने कार्यदिशा के हुनसक्छ भन्ने विषय वस्तुमा हामी केन्द्रीत हुनु पर्नेछ।
-हामीले तलैदेखि सम्मेलनहरू गर्यौं। राष्ट्रिय सम्मेलनमा जाँदैछौं। नेतृत्व निर्माणसम्बन्धी जुन जनवादी केन्द्रीयताको लेलिनवादी सिद्धान्त छ त्यो हाम्रा निम्ति अपुग भइरहेको छ र त्यसले धेरै काम गरिराखेको छैन। तर हामीले नयाँ विकास पनि गर्न सकिरहेका छैनौं।
-एउटा कामरेडले अर्को कामरेडसँग प्रतिस्पर्धा गर्ने तौर-तरिका के हो? त्यो उद्देश्यमा केन्द्रीत प्रतिस्पर्धा हो या आफ्नो योग्यता प्रदर्शन गर्ने र त्यही भित्रबाट प्रतिस्पर्धा गर्ने तरिका हो। या हाम्रो विधानले भनेजस्तो प्रतिनिधिले नेतृत्व चुन्न पाउने अधिकारलाई सुनिश्चितता गरेर जाने हो। यसको पनि भनाइ र गराइमा धेरै तादम्यता देखिएको छैन। योग्यता र क्षमताहरूले ठाउँ पाउने या प्रतिस्पर्धा गर्ने कहाँनेर हो भन्ने कुरा अलि स्पष्ट गर्नु पर्नेछ।
-हाम्रो पार्टीमा अध्यक्ष हुनुहुन्छ। हामी बहुपदमा जाने भनेका छौं। कुन कुन पद हुन्छ भनेर अहिलेसम्म विधानले किटान गरेको छैन।
-विधानले किटान गरेपछि बहुपद त्यो भित्र स्थायी कमिटी त्यसपछि पोलिटब्युरो केन्द्रीय कमिटी हुँदै ती विषयवस्तु जसलाई हामी कार्यविभाजन भन्छौं त्यो कार्यविभाजनमा पनि राष्ट्रिय सम्मेलन केन्द्रीत हुन्छ होला भन्ने लागेको छ।
-राष्ट्रिय सम्मेलनमा महाधिवेशनकै स्तरको कार्यदिशा निर्माण गर्न सकिँदैन। तर विचार र कार्यदिशाको तहमा एउटा निष्कर्ष त अवश्य निकाल्नुपर्छ। समाजवादी आन्दोलनका निम्ति कोशेढुंगा सावित हुन्छ भन्ने होइन। त्यसका लागि अर्को सम्मेलन जरूरी पर्छ।
-हाम्रो विधानले सर्वसम्मतिको कोशिश गर्ने, सर्वसम्मति भएन भने निर्वाचनको बाटो पनि खोलेको छ। हामीले सम्मेलनहरू सकेका छौं। प्रदेशको सम्मेलन गर्दा निर्वाचन गर्नपर्ने अवस्था आएन। अथवा त्यो अवस्थामा पुर्याइएन। कतिपय साना इकाइमा प्रत्यक्ष निर्वाचन पनि भएका छन्। राष्ट्रिय सम्मेलनमा जाँदा के हुन्छ भनेर अहिले नै भन्न गाह्रो हुन्छ।
-मेरो बुझाइ के हो भने कसलाई हो कम्युनिष्ट पार्टीको सदस्यता दिने। पेशा व्यवसाय गरेर सम्पत्ति आर्जन गरेका मान्छेहरूको ठाउँ कम्युनिष्ट पार्टीमा कहाँनेर हो। उनीहरू नीति निर्माणको तहमा जाने हो या समर्थक समूह बनाउने भन्ने निचोड निकाल्नुपर्छ। त्यस्तो गर्न नसके अरू पार्टीले आन्तरिक लोकतन्त्रको नाममा जसरी प्रतिस्पर्धा गरेका छन त्यसले दलाल पुँजी, श्रम नगरी थुपारिएको पुँजी पार्टीमा प्रवेश गर्छ। त्यसले नै आन्तरिक पार्टीमा निर्णायक भूमिका खेल्छ। त्यसले गर्दा त्यो ढंगले नेतृत्व चयन गर्नु हुँदैन भन्ने मेरो ठहर छ।
-माओवादीको पार्टी जीवनमा विधानअनुसार काम हुने गरेको छैन। विधान गतिशील हुनुपर्छ तर हाम्रो विधान अलि धेरै अस्थिर छ। सुरूमा प्रदेशमा ६ पदाधिकारी भन्ने थियो तर सम्मेलन गर्नु दुई दिनअघि ९ जना बनाउने स्थायी कमिटीले निर्णय गर्यो। त्यसले विधानमा अस्थिरता, निर्णयमा अस्थिरता देखिएको छ भने कमिटी भित्रका सदस्य र तिनको पदाधिकारीको संख्याको स्थिरतालाई अलि चुनौती दिएको छ।
-केन्द्रमा कति पदाधिकारी हुने भन्ने स्पष्ट भएको छैन। अध्यक्ष, उपाध्यक्ष, महासचिव भनिएको छ तर संख्या स्पष्ट छैन। प्रतिनिधिले कमिटी बनाउने र त्यसले पदाधिकारी चुन्ने हाम्रो विधानमा उल्लेख छ।
-हाम्रो पार्टीमा एउटा नेतृत्वदेखि अर्को नेतृत्वसम्मको ‘ग्याप’ धेरै भएको छ।
-दुनियाँमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने र समाजवादको यात्रा तय गर्ने अनि बुर्जुवाहरूसँग प्रतिस्पर्धा गर्ने र चुनावमा श्रेष्ठता हासिल गर्ने कुरा सँगसँगै कहीँ पनि भएको छैन। एउटा पनि उदाहरण छैन। तर हामी दुइटैलाई सँगै लैजान्छौं भनेर घोषणा गरिरहेका छौं। सँगै लैजानका निम्ति हामीले गरेको अध्ययन, खोज, संश्लेषण के हो भन्ने ठाउँमा पनि हामी पुगिसकेका छैनौं।
-हामी वैचारिक फलामको च्युरा चपाउने कोशिश गरेरहेका छौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउने हाम्रो पहिलो कोशिश हो। समाजवादको यात्रा तय गर्नका निम्ति त्यसको आधार तयार गर्ने कोशिश त्यहाँ हुन्छ।
-दोस्रो तत्कालीन कार्यनीतिका हिसाबले हामीले अहिले चुनावको सामना गर्ने, चुनावमा परिणाम आफ्नो पक्षमा पार्ने त्योमार्फत् जनताको बीचमा जाने बाटोलाई सुदृढ गर्ने र कानुन कार्यान्वयन गर्ने ठाउँमा गएर जनतासँगको सम्बन्धलाई विकसित गर्ने प्रक्रियालाई अहिले भर्खर छोडिदिएर अर्को बाटोमा जानसक्ने स्थिति पनि हामीसँग छैन।
-क्रान्तिकारी कम्युनिष्ट पार्टी त हामीले निर्माण गर्ने नै हो। हामीले संसदवादलाई आदर्शको रूपमा बुझ्ने होइन। त्यहाँबाट मुक्त गर्ने नै हो। व्यक्ति विशेषको मनमा कतै लागेको होला तर माओवादीले संस्थागत हिसाबले यो प्रतिस्पर्धात्मक राजनीतिलाई, यो संसदीय व्यवस्थालाई, यो संसदवादलाई आदर्श मानेको छैन र यसलाई आफ्नो रणनीतिक उद्देश्य मानेको छैन।