नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल र कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवबीच 'भनाभन' भएको छ।
सभापति शेरबहादुर देउवाको गृहजिल्लामा एकलौटी तवरले अधिवेशनहरू भइरहेकोले रोक्न र फेरि वडादेखि नै अधिवेशन गर्न मल्ल पक्षको माग छ।
एकलौटी हिसाबले गरिएका अधिवेशन रोक्न माग गर्दै आज सभापति मल्ल निर्वाचन समिति संयोजक यादवलाई भेट्न कार्यालयमा पुगेका थिए।
यो पनि: देउवाको गृहजिल्ला डडेल्धुरामा 'एकलौटी' अधिवेशन, सानेपामा नाराबाजी (भिडिओ)
संयोजक यादवले निर्वाचन अधिकृतलाई मल्ल पक्षले डडेल्धुरामा कुटपिट गरेको भनेपछि मल्ल र निधिबीच 'भनाभन' भएको थियो।
मल्ल पक्ष ६ दिनदेखि सानेपामा रिले अनशनमा छन्।
डडेल्धुरामा वडा अधिवेशन सार्न वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले पनि आफूसँग कुरा गरेको संयोजक यादवको भनाइ थियो।
आफूले सभापति मल्लसँग पटकपटक अधिवेशनका लागि कुरा गरेको दाबी पनि यादवको थियो।
‘बिपी कोइराला अध्यक्ष र प्रधानमन्त्री हुँदादेखि म पार्टीमा सहयोगी हुँ,’ संयोजक यादवले भने, ‘तपाईं र मैले के गरेँ भन्ने प्रेसमा जाने कुरा होइन। हाम्रो निर्वाचन प्रतिनिधिलाई डडेल्धुरामा के भो? संसारमा भएको छ निर्वाचनमा गएको प्रतिनिधिलाई कुट्ने?’
निर्वाचन अधिकृत कुटेको प्रसंग यादवले सुनाएपछि मल्लसहित उनी पक्षका नेता-कार्यकर्ता र यादवबीच चर्चाचर्की परेको थियो।
‘निर्वाचन अधिकृत कुट्ने भए हामी सत्याग्रह आन्दोलन गर्दैनथियौं। तपाईंले गलत भन्नुभयो,’ मल्लनिकट नेताले भने।
जिल्ला सभापतिसँग समन्वय गरेर अधिवेशन गर्नुपर्नेमा आफू पनि रहेको संयोजक यादव बताउँछन्। आफूले वडा अधिवेशन केही दिन स्थगित गर्न खोजेको र यसबारे मल्लसँग कुरा पनि भएको दाबी यादवको थियो।
अधिवेशन स्थगित गर्न खोजे पनि कहिलेका लागि तोक्ने भन्नेमा त्यसबेला कुरा नमिलेको दाबी संयोजक यादवको थियो। भदौ २५ मा डडेल्धुरामा वडा अधिवेशन भएको थियो। प्रहरी र प्रशासनको आडमा त्यसबेला सभापति देउवा पक्षले अधिवेशन गरेको आरोप मल्ल पक्षको छ।