नेपाली कांग्रेसले प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आजका लागि रोक्न माग गर्दै निवेदन दिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ का जिल्ला निरीक्षण रहेको भन्दै कांग्रेसले आजका लागि बैठक स्थगित गर्न माग गरेको छ। प्रधानमन्त्री देउवा बाढीपहिरो र डुवान प्रभावित क्षेत्रको निरीक्षणका क्रममा प्रदेश १ गएका छन्।
तर कांग्रेसले भावी मुख्यमन्त्रीमा भाग खोज्दै त्यसको सन्देश दिन आज प्रदेश सभाको बैठक स्थगित गर्न माग गरेको हो।
सत्ता गठबन्धनभित्र बागमती र प्रदेश नम्बर १ मा मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको बताइएको थियो।
बागमतीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम गठबन्धनबाट भावी मुख्यमन्त्रीमा प्रस्ताव भइसकेको छ।
प्रदेश १ मा पनि नेकपा एमाले संसदीय दलका नेता भीम आचार्य अल्पमतमा परेका छन्। एमाले विभाजनपछि उनले विश्वासको मत लिन लागेका छन्।
आज मुख्यमन्त्रीले विश्वासको मत लिने भनिएकोमा कांग्रेस र एमालेले बैठक स्थगित गर्न माग गरेका छन्।
कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले आफूहरू प्रदेशमा मुख्यमन्त्री आलोपालो हुनुपर्ने पक्षमा रहेको बताए। राजिव केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन्।
‘मुख्यमन्त्री आलोपालो हुनुपर्छ भन्ने पक्षमा हामी छौं,’ राजिवले भने।
बागमतीमा पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको थियो।