सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भनेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विभिन्न सञ्चारमाध्यममा प्रकाशित ती समाचार भ्रामक र अतिरन्जित भएको दाबी गरेका छन्।
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश राणाले भाग खोजेको समाचार पहिलो पटक आइतबार दिउँसो सेतोपाटीले प्रकाशन गरेको थियो।
‘संविधानत: प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्मानीय प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दु:खद र खेदजन्य विषय हो,’ दाहालको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय प्रधानन्यायाधीशज्यूबाट नेपालको संविधानबमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको धारणा विभिन्न समयमा व्यक्त हुँदै आएको स्मरण गराउँदै सर्वोच्च अदालतका अमुक फैसलासमेतका सन्दर्भ जोडी यसप्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकुल प्रभाव पार्ने दूषित मनसायबाहेक अरू केही हुन सक्दैन।’