नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र जसपा परित्याग गरेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको छ।
निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले नयाँ दल रोज्ने जनप्रतिनिधिका लागि भदौ २२ गते बेलुका ५ बजेसम्मको समयसिमा तोकेको हो ।
यसअघि सनाखतमा छुटेका संघीय संसदका सांसदले भने अब दल बदल गर्न पाउने छैनन्। तर, अध्यादेश अनुसार प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले भने नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र नयाँ दल रोज्न पाउनेछन्।
अब यी दुवै दलबाट नयाँ दल रोज्न चाहने प्रदेश सांसदले प्रदेश निर्वाचन कार्यालय प्रमुख र स्थानीय जनप्रतिनिधिको हकमा जिल्ला निर्वाचन कार्यालय प्रमुखको रोहबरमा सनाखत गर्नुपर्ने भएको छ।
प्रदेश निर्वाचन कार्यालयले प्रदेश सभा तथा स्थानीय तहका सदस्यको सनाखत गराउँदा छुट्टाछुट्टै स्थानमा छुट्टाछुट्टै रजिस्टर खडा गरी सनाखत गराउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित कार्यालयलाई निर्देशन समेत गरेको छ।