नेपाली कांग्रेसको महाधिवेशन नजिकिइरहेको बेला कोइराला परिवारका तीन जनै सदस्य शनिबार एकै ठाउँमा भेला भएका छन्।
शशांक कोइरालाको निवास महाराजगञ्जमा उनीसहित केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला भेला भएका हुन्।
यसलाई ‘लञ्च मिटिङ’ भनिएको छ। स्रोतका अनुसार शशांकले मिटिङको आयोजना गरेका हुन्।
भेलामा कांग्रेस महाधिवेशनमा केन्द्रित भएर कुराकानी भइरहेको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपिलियाले बताए।
उनका अनुसार संस्थापन इतर समूहबाट महाधिवेशनमा एकै जना उम्मेदवार बनाउने विषयमा छलफल केन्द्रित छ।
कोइराला परिवारबाट शशांक र शेखर सभापति उठ्न खोजिरहेका छन्। दुबै बलियो दाबेदारको रूपमा देखिएका छन्।
तर, दुबैले एक-अर्काको साथ खोजिरहेका बेला भएको भेलालाई महत्वपूर्ण रूपमा हेरिएको छ। शेखर यसपालि आफू जुनसुकै अवस्थामा सभापतिको उम्मेदवार बन्ने योजनामा छन्।
शशांकलाई अघिल्लो महाधिवेशनमा महामन्त्री पदका लागि बाटो खोलिदिएका शेखर उनले यसपालि आफूलाई सघाउनेमा विश्वस्त थिए। तर, शशांक आफैं उम्मेदवार बन्ने जोडमा लागेपछि कोइराला परिवारभित्रै दुई उम्मेदवार देखिएका छन्।
यस्तै, बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो पक्षबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि कुराकानी हुने बताइएको छ।