पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पनि नपुगिने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा स्टाटस राख्दै भट्टराईले पछिल्लो समय जसपा र सत्तारुढ दल नेकपा एमालेमा देखिएका आन्तरिक विभाजन र पार्टी एकताको विषयप्रति संकेत गर्दै गन्तव्य एकै नभएकाहरु छुट्टिँदा नै राम्रो हुने बताएका हुन्।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि नपुगिने भन्दै आआफ्नो बाटो लाग्नुपर्ने बताएका हुन् ।
पार्टीको एकता र फुटको कुनै फर्मुला नहुने भन्दै डा. भट्टराईले सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुने गरेको बताए । उनले मुख्य कुरो कहाँ पुग्ने (लक्ष्य) र कुन बाटो जाने (कार्यदिशा) भन्ने भएको बताए।
डा. भट्टराई भन्छन्, ‘पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पनि पुगिन्न। बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुँदा राम्रो!'
यसैबीच जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवाद समाधान गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बुधबार इजलास गठन भएको हो। इजलासमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन सम्शेर जबरा सदस्य छन्।
३ साउन ११ बजेदेखि इजलासमा सुनुवाई सुरु हुने जानकारी आयोगले दिएको छ। दुबै पक्षलाई आयोगले आफ्ना आधिकारिक प्रतिनिधि पठाउन पत्राचार गरेको छ। कुनै पक्षको प्रतिनिधि अनुपस्थित भए पनि सुनुवाई भने नरोकिने आयोगले जनाएको छ।
आयोगमा दुवै पक्षले आफू आधिकारिक रहेको दाबी गरेका छन्। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले मंगलबार सहमति दिएपछि आयोगले कानूनी प्रक्रिया अगाडि बढाएको हो। ५१ सदस्यीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा बहुमतमा छ।