प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा गरेका छन्।
आइतबार पार्टी एकता रक्षा एवं सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गर्दै उनले असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन्।
अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार रहेको बताएका हुन्। खनाल–नेपाल समूहले आइतबारै ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए। उनीहरूले कारबाही फिर्ता लिए मात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए।
‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्। मातहतका पार्टी कमिटी र जनसंगठनहरू मूलभूत रूपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन्। संगठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ। आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’ उनले भनेका छन् ।
२३ जेठ २०७८
नेकपा (एमाले) को एकताका लागि आह्वान
प्रिय कमरेडहरू।
नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र पार्टी एकताका विषयमा पार्टी पंक्ति एवं आम जनसमुदायबाट समेत व्यक्त भएका चासो, सरोकार र चिन्तालाई मैले गम्भीरतापूर्वक लिएको छु। पचास वर्षभन्दा पहिले विभाजन र विखण्डनको दुःखद शृंखलाबाट गुज्रिरहेको कम्युनिस्ट आन्दोलनलाई आधारभूत तहबाटै पुनर्गठन एवं एकतावद्ध गर्न नयाँ अभियान सुरूआत गर्ने सीमित व्यक्तिहरूमध्ये एक हुनुको नाताले मैले पार्टी एकताको महत्व र खाँचोलाई गहिरो गरी बुझेको छु।
म सधैंभरि कम्युनिस्ट आन्दोलनको एकता, लोकतान्त्रिक शक्तिहरूको एकता र राष्ट्रिय एकताको पक्षमा रहँदै आएँ। भोलिका दिनमा पनि म यसैका निम्ति क्रियाशील रहने छु।
कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ हामीले २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरेका थियौं। एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रूपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहोर्याइरहन आवश्यक देख्दिनँ।
तर त्यो एकीकरण निष्कर्षमा पुग्न सकेन। यसका कारणहरूबारे यहाँ धेरै भन्न चाहन्नँ।
२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भंग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन्। तर यो यथार्थ होइन। सर्वोच्च अदालतले त नेपाल कम्युनिस्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुध्ने गरी गरिएको दर्ता मिलेन भनेको हो। एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो। र यसका लागि समय पनि दिएको हो।
पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैं पहल पनि लिएको हुँ। तर पुष्पकमल दाहाल 'प्रचण्ड' को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन। त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरूको साझा पार्टी, एकताको बिरासत बोकेको पार्टीका रूपमा नेकपा (एमाले) लाई नयाँ स्वरूप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं।
नेकपा (एमाले) को निर्माण र विकासमा हजारौं योद्धाहरूको पसिना, त्याग र बलिदान अन्तरनिहित छ। यस पार्टीप्रति जनताको अपार विश्वास छ। नेकपा (एमाले) लाई सुदृढ गरेर मात्रै कम्युनिस्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउन सकिन्छ। यसो गरेर मात्रै मुलुकको लोकतन्त्र सुदृढ हुन सक्छ। त्यसको जगमा मात्रै राष्ट्र एकताबद्ध र सबल हुन सक्छ। विकसित र समृद्ध हुन सक्छ। त्यसैले यस पार्टीलाई किमार्थ कमजोर बन्न दिनु हुँदैन।
आज नेकपा (एमाले) को आन्तरिक जीवनमा समस्याहरू देखा परेका छन्। ती समस्याबाट पार्टी पंक्ति मात्रै होइन, राजनीतिक स्थिरता र लोकतन्त्रका पक्षधर आम जनसमुदाय समेत चिन्तित छन्। परिस्थितिको गाम्भीर्यलाई ध्यानमा राखेर पार्टी अध्यक्षका हैसियतले मैले एकताका निम्ति गरेको अथक प्रयास र निरन्तर पहलबारे यहाँहरू सबै परिचित हुनुहुन्छ। तर हाम्रा अनवरत प्रयासका बाबजुद जे नहुनुपर्थ्यो, त्यही भइरहेको छ। जे हुनुपर्थ्यो, त्यो भने भइरहेको छैन।
पार्टी एकताको मुख्य आधार पार्टीका स्थापित सिद्धान्त र नीति, विधि र पद्धति एवं मूल्य र मान्यताहरू हुन्। राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रबिन्दुमा राखेर असल मनसायले अगाडि बढ्ने हो भने हामीबीचका समस्याहरू समाधान हुन नसक्ने म कुनै कारण देख्दिनँ। त्यसका लागि सबैभन्दा पहिले हामी एक ठाउँमा उभिन जरुरी छ। एकताको लक्ष्य राखेर सकारात्मक र सिर्जनात्मक योगदान गर्न आवश्यक छ।
तसर्थ, पार्टी एकताको पक्षमा निरन्तर पहल गर्ने कमरेडहरूका भावना र सुझावलाई समेत ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न देहायको प्रस्तावसहित आह्वान गर्दछु–
१. नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्।
२. मातहतका पार्टी कमिटी र जनसंगठनहरू मूलभूत रूपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन्।
३. संगठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ।
४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुने छ।
५. यस बीचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन।
६. नेकपा (एमाले) लाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरूले रचनात्मक योगदान गर्नु हुने छ।
केपी शर्मा ओली
अध्यक्ष