नेकपा एमालेको खनाल-नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिएर आउन सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ।
सर्वोच्च अदालतको आदेशले दुई वटा पार्टीको एकतालाई भंग गरेपछि पार्टीलाई पूर्ववत रूपमा नै सञ्चालन गर्नुपर्ने अडान लिँदै आएको खनाल-नेपाल समूहले सोही अडानमा अडिग रहँदै त्यसमा अध्यक्षको प्रतिवद्धता खोजेको हो।
खनाल-नेपाल समूहका सांसदको आईतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिवद्धताका लागि भोलि सोमबार बिहान ९ बजे सम्मको समय दिएको हो। नेता योगेश भट्टराईले ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्षको आफूहरूको मागका सम्बन्धमा प्रतिवद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने चेतावनी दिए।
सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ। नेता भट्टराईले अध्यक्षबाट प्रतिवद्धता आए बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्ने र प्रतिवद्धता नआए कठोर निर्णय गर्ने बताएका हुन्।
‘हाम्रो पार्टी नेकपा एमाले अहिले अत्यन्तै कठिन समयमा छ । पार्टी एकताको रक्षा गर्ने र सामुन्ने आएका ऐतिहासिक जिम्मेवारी पुरा गर्ने सन्दर्भमा हामी अन्तिम बेलासम्म पनि पार्टी एकतालाई जोगाउने कुरामा कोशिश गरिरहेका छौं। आजको बैठक पनि त्यही श्रृंखलाको एउटा कडि हो’, उनले भने, ‘भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव लादै हुनुहुन्छ । त्यस सन्दर्भमा के गर्ने भन्ने नै बारेमा नै आज हामीले छलफल गरेका छौं।’
आजको बैठकले पार्टी एकतालाई जोगाउन, त्यसको रक्षा गर्न र पार्टीलाई सहमतिमा पुर्याउने मुख्य दायित्व अध्यक्षको हो भन्ने कुरामा आफूहरू एकमतमा पुगेका भट्टराईले बताए। ‘पार्टी अध्यक्षले त्यो दायित्व र जिम्मेवारीलाई गम्भीरताकासाथ पुरा गर्नुभएको छैन भन्ने हाम्रो निष्कर्ष छ। आज मात्रै उहाँले एउटा वक्तव्य दिनुभएको छ र पार्टीको एउटा पक्षलाई लाञ्छित गर्ने खालको शब्द वक्तव्यमा समावेश गर्नुभएको छ। त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौ र पार्टी अध्यक्षलाई फेरि पनि एकताको पक्षमा गम्भीरताका साथ आगाडि बढ्न ध्यानाकर्षण गरेका छौं’, उनले भने।
फागुन २३ गते सर्वोच्च अदालतको फैसला अनुसार, दुई वटा पार्टीको एकता भंग भईसकेपछि नेकपा एमाले स्वतः २०७५ जेठ २ गतेको अवस्थामा पुगेको भन्दै उनले भने, ‘हामीले उठाएको एउटै कुरा हो कि अब पार्टीको जीवन, संगठन, पार्टीको नेतृत्व विचार सबै एकतापूर्वको अवस्थाबाट अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पहिलो प्रस्ताव हो । त्यो प्रस्तावमा हामी अहिले पनि दृढताका साथ उभिएका छौं। हामीले आजको बैठकबाट पनि पार्टी अध्यक्षलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्केर संगठनको जीवनलाई, पार्टीको जीवनलाई सुचारु गर्नका निम्ति ध्यानाकर्षण गरेका छौ।’
पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्नका निम्ति ध्यानाकर्षण गरेका जानकारी गराउँदै भट्टराईले भने, ‘त्यसको निम्ति उहाँलाई भोलि वैशाख २७ गते बिहान ९ बजे सम्मको समय दिएका छौ।’
प्रधानमन्त्रीको तर्फबाट पार्टी संगठनलाई पूर्ववत अवस्थाबाट सञ्चालन गर्ने प्रतिवद्धता नआए नेपाल पक्षका सांसदले सांसद पदबाट नै राजीनामा गर्ने तयारी गरेको छ। यसबारेमा भने नेता भट्टराईले कठोर निर्णय भनेपछि बुझ्नु न भन्दै संक्षिप्त प्रतिक्रिया दिए।
‘जेठ २ गते २०७५ सालको अवस्थामा फर्केर पार्टी र संगठनलाई संञ्चालन गर्ने कुरा र आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा उहाँको प्रतिवद्धता हामीले खोजेका छौ। यदि उहाँले त्यो प्रतिवद्धता जनाउनुभयो भने प्रतिनिधिसभामा हाम्रो उपस्थिति हुन्छ र हामी विश्वासको मतको पक्षमा मतदान गर्छौ। त्यो स्थिति भएन र एउटा समुहलाई किनारा लगाउने, पेल्ने, धकेल्ने, कारवाही गर्ने, हतोत्साही गर्ने,डर , धाक, धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरु निरन्तर भए भने हामीले भोली वैशाख २७ गते जे निर्णय गर्नुपर्ने हो त्यो निर्णय गर्छौ’, उनले भने, ‘सम्पूर्ण माननीय सदस्यहरुलाई भोलि बिहान साढे ९ बजे संसद सचिवालयमा निमन्त्रणा गरेका छौ। ९ बजेसम्म अध्यक्षको प्रतिवद्धताको प्रतिक्षा गर्छौ । ९ बजेपछि जुन निर्णय गर्नुपर्ने हो । कठोर निर्णय हामी गर्छौ।’