नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले विधान संशोधन गर्न लागेको छ। गत शुक्रबार बसेको माओवादी केन्द्रको संसदीय दलको वैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो।
यसअघि बनेको नेकपा माओवादी केन्द्रको विधान अहिले नयाँ राजनीतिक परिस्थिति अनुसार संशोधन आवश्यक भएकाले गर्न लागिएको संसदीय दलका प्रमुख सचेतक सिता नेपालीले जानकारी दिईन्।
तत्कालीन अवस्थामा माओवादी र एमालेको एकीकरणको प्रक्रियाकै क्रममा कर्णाली प्रदेशमा पनि नेकपा संसदीय दलको विधान लागू गरिएको थियो। सर्वोच्चले नेकपालाई वैधानिकता नदिएर एमाले र माओवादी केन्द्रलाई व्युँताईदिएपछि विधान संशोधन गर्न लागिएको हो ।
‘यसअघि नेकपाको विधान अनुसार प्रक्रिया चलिरहेको थियो, अब हामीले पहिला तयार पारेको माओवादी केन्द्रको छुट्टै विधानलाई संशोधन गरी त्यस अनुसार चल्ने तयारी गरेका छौं,’ प्रमुख सचेतक नेपालीले भनिन् ।
विधान संशोधनका लागि आजै वैठक बस्न लागेको विधान संशोधन समितिका सदस्य सांसद् रातो कामीले जानकारी दिए। विधान संशोधन समिति ३ सदस्यीय बनाईएको छ। जसमा प्रमुख सचेतक नेपाली संयोजक छिन् भने सांसद् रातो कामी र गणेश प्रसाद सिंह सदस्य छन्।