प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री विद्या भट्टराईको राजीनामाबारे बोलेका छन्।
नेकपा स्थापनाको ७६ वर्षको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले शिक्षा मन्त्रीले स्वास्थ्यको कारणले राजीनामा दिएको तर मिडियाले आफूले असहयोग गरेकाले दिएको भनेर हेडलाइन बनाएको टिप्पणी गरे।
‘राजीनामा दिनु भएको छ भन्ने खुब प्रचार भएको छ। किन दिनुभयो रे भने प्रधानमन्त्रीले बसिखानै दिएन रे! मैले बनाएको मन्त्री! मैले काम लगाइराख्या छु, सहयोग गरिराख्या छु। काम सिकाइराख्या छु,’ उनले भने।
शिक्षामन्त्री भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन्।
यसबारे प्रधानमन्त्री ओलीले गरेको टिप्पणीलाई हामीले यहाँ जस्ताको तस्तै राखेका छौं;
शिक्षा मन्त्रीले राजीनामा दिनु भएको छ भन्ने खुब प्रचार भएको छ। किन दिनुभयो रे भने प्रधानमन्त्रीले बसिखानै दिएन रे! मैले बनाएको मन्त्री! मैले काम लगाइराख्या छु, सहयोग गरिराख्या छु। काम सिकाइराख्या छु।
उहाँले अस्ति भर्खर पनि अप्रेसन गर्नुभयो, घाँटीको। स्वास्थ्य ठीक भएन। धेरै ठूलो मन्त्रालय छ, शिक्षा। सजिलो छैन। त्यसो भएर उहाँले। स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नुभएन।
अब त्यो सबै। आजको अखबार, सबैको हेडलाइन हाम्राविरूद्ध। सबैको हेडलाइन मेराविरूद्ध। त्यो त कस्तो भने.. आश्चर्य भने अनौठो आश्चर्य लाग्छ। यस्तो दुस्मनी के कारणले हो? के कारणले हो यस्तो दुस्मनी? सबैले एकैठाउँ बसेर सल्लाह गरेर लेखेजस्तै छ। सल्लाह गरेर। मानिलिऊँ प्रस्ताव राखेर, पारितै गरेर, यही लेख्ने भनेर लेखेजस्तै। सबैको टेलिफोन संवाद भएर योजनाबद्ध ढंगले लेखेका छन्। आजका पेपरहरूका हेडलाइन हेर्नुस्, सबैका।
सरकारले असहयोग गरेर। कोहीकोही ठाउँमा लेखेका होलान्। नत्र प्रधानमन्त्रीले असहयोग गरेर। प्रधानमन्त्रीसँगको मतभेदबाट। धेरैलाई लागेको छ। कोहीकोही नयाँ शक्तिहरूले भने पनि– शिक्षामन्त्रीको राजीनामा आयो। प्रधानमन्त्रीको आउनुपर्थ्यो!
प्रधानमन्त्रीको राजीनामा भन्ने गरेको छु त, १५ महिनापछि आउँछ। हाम्रो सहमति नै छ, नेपाली कांग्रेससँग, १५ महिनापछि आउँछ राजीनामा। मैले गर्छु। शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। स्पष्टै छ। १५ महिना पर्ख न, मेरो राजीनामा हेर्ने हो भने।
यो पनि: शिक्षक आन्दोलन चर्किरहेका बेला यसकारण दिइन् शिक्षा मन्त्री भट्टराईले राजीनामा