प्रचण्ड-माधव नेपाल समूहको नेकपा प्रदेश एक संसदीय दलको बैठकले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई हटाएको घोषणा गरेको छ।
आइतबार विराटनगरमा बसेको बैठकले राजभण्डारीलाई प्रमुख सचेतकबाट हटाएको जानकारी दलका उपनेता टंक आङ्बुहाङले जानकारी सेतोपाटीलाई जानकारी दिए।
यस्तै आजकै बैठकले संसदको कार्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्ने नेकपाबाट बुद्धिकुमार राजभण्डारी र इन्द्रमणि पराजुलीलाई हटाएर लिला बल्लब अधिकारी र उपेन्द्रप्रसाद घिमिरेलाई पठाउने निर्णयसमेत गरेको छ।
यसअघि यो समूहले मुख्य मन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको थियो।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्तावसमेत गरेको थियो।
यस्तै मुख्यमन्त्री राईले आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बनसमेत गरेका थिए।