विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गर्नेलाई कारबाही गर्न माग गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका १६ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल,अध्यक्ष प्रभु साह लगायतले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्दै नेकपाका १६ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन्।
विधि र अनुशासनअनुसार पार्टीलाई अगाडि बढाउन माग गर्दै प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत १६ जनाले मंगलबार नेकपा केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाएका हुन्।
नेकपा केन्द्रीय समितिको परिपत्रलाई उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरिएको भन्दै उनीहरूले ज्ञापनपत्रमा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारबाही गर्न माग गरेका छन्।
ज्ञापनपत्रमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठालगायत छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत कार्य गरेको आरोप लगाउँदै उनीहरुले महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनु पर्ने माग गरेका छन्। प्रदेश नम्बर दुईको प्रदेश कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य वरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ।
त्यस्तै नेकपाको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र ४ (क) विपरीत प्रदेश नं २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र योग्यता पुगेकाहरुलाई मनोनयन गरेर सपथ ग्रहण गराउनु पर्ने माग उठाएका छन्।
उनीहरूले जिल्ला कमिटी मातहतका पार्टी कमिटीहरूमा समेत अवैधानिक र विधिविपरीत ढंगबाट कमिटी गठन गर्ने कार्यलाई तत्काल रोक्न माग गरेका छन्।