हृदयघात भएपछि पूर्वयुवराज पारस शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्दै गर्दा अप्ठ्यारो भएपछि उनलाई सोमबार अपरान्ह सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको हो।
'उहाँको मुटुका दुई वटा धमनी ब्लक छन्', अस्पताल स्रोतले भन्यो, 'अस्पतालका मुटु रोग विभाग प्रमुख डाक्टर यादव भट्ट नेतृत्वको टोलीले ब्लक खोल्ने निरन्तर प्रयास गरिरहेका छन्। उहाँको अवस्था अत्यन्त गम्भीर छ।’
यसअघि दुई पटक हृदयघातबाट गुज्रिएका पारस तेस्रो पटक हृदयघातपछि अस्पताल पुगेका हुन्।
यसअघि मन्दिरमा डेढ घण्टा बिताएका पारसलाई पञ्चकन्याले फूलमालाका स्वागत गरेका थिए। शाह मन्दिर पुग्दा स्वागत गर्न ललितपुरका मेयर चिरिबाबु मर्हजन समेत पुगेका थिए।
मन्दिर पुग्दा राजा आउ देश बचाउ,युवराजधिराज सरकार जिन्दावाद भन्दै नाराबाजी भएको थियो।
लामो अन्तरालमा सार्वजनिक स्थलमा देखापरेका पारसलाई हेर्न भीड जम्मा भएको थियो। पारस मन्दिरमा भने हँसिलो मुद्रामा थिए। पारसलाई हेर्न भीड जम्मा भएपछि प्रहरी परिचालन भएको थियो।
श्रीमतीसँग लामो समय छुट्टिएर बसेका उनी केही समययता भने परिवारसँग घुलमिल भइरहेका थिए। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा छन्।